पैदलयात्रीमाथि दुर्व्यवहार गर्ने जिप चालक पक्राउ

नारायण गोपाल चोकमा पैदल यात्रीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले ४२ वर्षीय जिपचालक पारस बमलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

काठमाडौँ– काठमाडौँको नारायण गोपाल चोकमा पैदलयात्रीलाई हातपात गरेको आरोपमा एक जना निजी जिप चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार बा ३ च ९१०३ नम्बरको निजी जिपका चालक पारस बमलाई पक्राउ गरिएको जानकारी दिएको हो।

बैतडी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय बमले सार्वजनिक स्थलमा पैदलयात्रीलाई दुर्व्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पेसाले इन्जिनियर रहेका बमलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ बुझाएको हो। उनले काठमाडौँको चक्रपथ क्षेत्रमा गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई कुटेको भिडियोमा देखिएको छ।

बममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।