यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीमा साधारणतया बादल लागेको छ।

बाँकी पहाडी भूभागमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो रहने विभागले जनाएको छ।

यसैगरी, राति कोशी र बागमतीमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। तराईमा थोरै स्थानमा तुवाँलो रहनेछ।