‘म काठमाडौँ क्षेत्र नं. ५ को मतादाता भइरहँदा जवाफदेहिता पाइनँ। मेरा अभिभावकले जुन दुःख भोगे, मैले पनि त्यही भोगिरहेकी छु र मेरो ७ वर्षको बच्चाले पनि त्यही भोगिरहेको छ।’
फिल्म खेलिरहेको मान्छे, राजनीतिक खेल कस्तो लागिरहेको छ?
मेरो लागि एकदमै नयाँ अनुभव हो र मैले धेरै कुरा सिकिरहेको छु। हरेक दिन नयाँ जोस र ऊर्जा थपिएको छ। चुनाव चिह्न नै ब्याट्री हो, त्यो पनि पूरा चार्ज भएको, ऊर्जा हुनु परिहाल्यो। चुनावी माहोलका विभिन्न पत्र, चरण र प्रक्रियाहरू बुझ्न तथा अनुभव गर्न पाउँदा साच्चिकै खुशी लागेको छ।
प्रतिक्रिया कस्तो पाइरहनु भएको छ?
माहोल निकै रोचक छ। उम्मेदवारी दिँदा कस्तो प्रतिक्रिया आउला भन्ने कौतुहल थियो। अहिलेसम्म सबैले मलाई एउटा कलाकारको रूपमा मात्र चिन्थे। कलाकारिताबाट राजनीतितर्फको यो यात्रा र रूपान्तरणको मोड कस्तो होला भन्नेमा म आफैँ उत्सुक थिएँ।
अहिले मतादाताले मेरा अजेन्डाहरू निकै उत्साहका साथ सुनिदिनुभएको छ। म एउटा यस्तो रोचक समयमा उम्मेदवार बनेकी छु, जहाँ मानिसहरू पुरानो व्यवस्थाबाट हतोत्साहित र नयाँमा पनि केही हुन्छ कि हुँदैन भन्ने संशयमा छन्। म चाहिँ अलिकति बीचमा परेको छु। मिडिया र चलचित्र क्षेत्रमा २० वर्ष काम गरेको र मेरो पढाइ पनि यही क्षेत्रमा भएकाले ‘यो मान्छेले राम्रो कुरा गरिरहेको छ, यसले केही गर्छ होला’ भन्ने खालको प्रतिक्रिया आइरहेको छ। राम्रै स्कोरिङ गरिरहेको छु जस्तो लाग्छ।
तपाईं राजनीतिशास्त्रको विद्यार्थी हुनुहुन्छ। अहिलेको हाम्रो राजनीतिलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
हाम्रो राजनीति बहुदलीय प्रणालीबाट अलिकति लोकप्रियतावादतर्फ ढल्किरहेको छ। अहिले अर्थतन्त्र संकटमा छ। द्वन्द्व, शान्ति र विकासको कोणबाट हेर्दा पनि हामी निकै द्वन्द्वग्रस्त अवस्थामा छौँ। समाजमा एक प्रकारको मोरल प्यानिक छ। यसलाई संयमताका साथ अगाडि बढाएर फेरि एकढिक्का बनाउनु जरुरी छ। अहिलेको माहोल अलि विभाजित र धु्रवीकृत देखिएको छ।
आफ्नो क्षेत्रका उम्मेदवारसँग मतादाताले कस्ता प्रश्न गर्ने रहेछन्? गुनासो के रहेछ?
मतदाताहरूको गुनासो अहिले चरम विन्दुमा पुगेको छ। क्षेत्र नं. ५ मा एकजना महिलालाई भेटेँ, जसका एउटा छोरा डाक्टर र अर्का इन्जिनियर हुनुहुन्छ। उहाँहरू देशमै केही गरौँ भनेर विदेश जान मान्नुभएको रहेनछ। तर यहाँ उहाँहरूको मूल्य जेनेरेट नभएको स्थित छ। त्यो पीडाले उहाँ बोल्दाबोल्दै रुनुभयो।
हाम्रो क्षेत्रमा अहिले पनि खानेपानीको ठूलो समस्या छ। गर्मी महिनामा बूढानीलकण्ठ क्षेत्रमा पानी हुँदैन। हाँडिगाउँको आफ्नै पीडा छ, पुरानो शहर भए पनि यसले पाउनुपर्ने जति पहिचान पाएको छैन। यहाँका सम्पदाहरूको उचित प्रचार छैन। बालुवाटार क्षेत्रमा हरियाली क्षेत्रको कमी छ। उहाँहरूले यिनै दैनन्दिनका समस्याहरू सुनाउनु हुने रहेछ। नीति नियम क्षेत्र नं. ५ का निम्ति मात्र बनाउने होइन, तर ती कुरालाई उदाहरण मानेर देशव्यापी रूपमा कसरी यो समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा म भित्र झन्झन् स्पष्टता आइरहेको छ। म आफ्ना अजेन्डा लिएर जान्छु, उहाँहरूका गुनासो सुन्छु र मेरो टिमसँग बसेर त्यसको समाधानबारे छलफल गर्छु।
काठमाडौँ क्षेत्र नं. ५ का बासिन्दाले तपाईंलाइ किन जिताउने?
यो प्रश्न म आफैँलाई पनि सोध्छु। म क्षेत्र नम्बर ५ को मतादाता भइरहँदा जवाफदेहिता पाइनँ। मेरा अभिभावकले जुन दुःख भोगे, मैले पनि त्यही भोगिरहेकी छु र मेरो ७ वर्षको बच्चाले पनि त्यही भोगिरहेको छ। अहिलेसम्म जसलाई भोट हालेर पठाए पनि उहाँहरू पार्टीकै राजनीतिमा रुमल्लिनुभयो। नागरिकको वास्तविक दुःखलाई नीतिगत तहमा लगेर स्टेट बिल्डिङ (राज्य निर्माण) गर्नेतिर लागौँ भन्नेमा कसैको पनि ध्यान गएन। म यी सबै गुनासो सम्बोधन गर्न र अबको पुस्ताले यस्तो समस्या भोग्न नपरोस् भनेर राजनीतिमा आएकी हुँ।
तपाईंले घोषणापत्रमा पाँचवटा अजेन्डा प्रस्तुत गर्नुभएको छ। त्यसमा ज्येष्ठ नागरिक, महिला, अर्थतन्त्र, वातावरण र युवालाई केन्द्रमा राख्नुभएको छ। एउटा सांसदले यस्ता अजेन्डामा देखिनेगरी काम गर्न कति सम्भव छ?
नीतिगत रूपमा कहाँ चुकिरहेका छौँ र के व्यवस्था गर्दा रूपान्तरण हुन्छ भन्ने अनुसन्धान गरेरै हामीले यी अजेन्डा ल्याइएका हौँ। मैले कयौँ पटक सडकमा गएर उठाइरहेका मुद्दा पनि घोषणापत्रमा समेटेको छु।
पुल बनाउने वा विकासका ठूला आश्वासन दिने चलनका बीच पर्यावरण र ‘को–वर्किङ स्पेस’ जस्ता अजेन्डाले चुनाव जित्न सहज होला?
विधायकले देशभरको विषय सोच्नुपर्छ। हामीले जहिले पनि विमानस्थललाई मात्र राष्ट्रिय गौरवको आयोजना बनायौँ, तर त्रिभुवन विश्वविद्यालय वा शिक्षण अस्पताललाई पनि राष्ट्रिय गौरवको विषय बनाउन सकिन्छ। राष्ट्रिय नीति ल्याउनेतिर जानुपर्छ। ठूला अजेण्डा चाहिन्छ, तर हामीले समाजका सानासाना विषयलाई पनि सम्बोधन गर्नुपर्छ। समाज बलियो भए मात्र देश बलियो हुन्छ। ठूला संरचना भएर मात्र हुँदैन। ज्येष्ठ नागरिक, महिला र युवा सबै वर्गलाई समेट्ने राजनीति नै वास्तविक लोकतान्त्रिक प्रक्रिया हो।
तपाईंले आफ्नो घोषणापत्रमा जेन–जी विद्रोहले राजनीतिमा आउन प्रेरित गरेको उल्लेख गर्नुभएको छ। त्यो आन्दोलनको कुन पक्षले म आफैँ मैदानमा उत्रनुपर्छ भन्ने मोडमा पुर्यायो?
पुस्तान्तरणको कुरा गर्दा गाइडेन्स र मेन्टरसिपको कमी देखियो। एउटा पुस्ताले अर्को पुस्तालाई आफूले जानेको ज्ञान, सीप र क्षमता शेयर गर्नुपर्छ। हाम्रो जेन–जी, मिलेनियल्स र अरू पुस्ताका बीचमा ठूलो खाडल भयो कि भन्ने भान परेको छ। राम्रो र सशक्त नागरिक समाज बनाएर आवाज उठाउन चुक्यौँ कि जस्तो लाग्छ।
मैले एमफिल गर्दैगर्दा एउटा बलियो नागरिक समाजको आवाज बन्ने सोचेकी थिएँ, तर सडकबाट मात्र उठाएको आवाजले काम गरेनछ भन्ने महसुस भयो। जेन–जी आन्दोलनले पनि हाम्रा नेता र सुशासन तथा पारदर्शीतामा कति ठूलो खाडल रहेछ भन्ने देखाइदियो। अब यस्तो परिस्थिति आउन नदिन परिपक्व भएर काम गर्नुपर्छ। राजनीतिक संकटको निकास राजनीतिक प्ल्याटफर्मबाटै दिनुपर्ने महसुसले मलाई झक्झकाएको हो।
देश विकास गर्ने वा यो देशलाई कता लैजाने भन्ने कुरा त सिनेमा क्षेत्रबाटै गर्न सकिँदैन थियो? सिनेमा क्षेत्रबाटै राजनीति गर्न सकिन्थ्यो होला नि?
मैले १० वर्षअगाडि भनेको रहेछु– हाम्रो राजनीतिज्ञहरूले धेरै एक्टिङ गर्नुभयो, अब हामी कलाकारहरू राजनीतिमा लागेर नेताहरू चाहिँ कलाकारितातिर लागे हुन्थ्यो। हामी कलाकारले सचेतना फैलाउन सक्छौँ। अभियान चलाउन सक्छौँ। यी दुवै चिज लोकतन्त्रमा महत्त्वपूर्ण मानिन्छ। तर काम गर्न सक्दैनौँ, किनभने हाम्रो पनि सीमितता छ। हामीले समाजमा फैलिने मिसइन्फरमेसन र डिसइन्फरमेसनलाई केही हदसम्म रोक्न सक्छौँ। किनभने दिक्क लाग्दा विषयलाई पनि रमाइलो तरिकाले प्रस्तुत गर्नसक्छौँ। लोकतन्त्रलाई मजबुत बनाउन खेलाडी र कलाकारहरूको हात हुन्छ, तर त्यो पर्याप्त हुँदैन। त्यहाँबाट राजनीति गर्न सकिँदैन।
तपाईंको घोषणापत्रमा ‘सुरक्षित सडक’ र ‘स्वच्छ हावा’को कुरा छ। यस्ता क्षेत्रमा कसरी काम गर्नुहुन्छ?
वातावरणीय दृष्टिकोणबाट हेर्ने हो भने हाम्रा पूर्वाधार निकै संवेदनशील छन्। मुग्लिनको बाटो, जहाँ पहिरो जाने जोखिम छ, त्यहीँ सडक बनाइएको छ। म काठमाडौँदेखि लुम्बिनी आफैले ड्राइभ गरेर गएँ। पोखरा पनि गएँ। पोखराको बाटो अहिले राम्रो छ। ठेक्कापट्टा र अनुगमनमा कडा निगरानी हुनुपर्छ। संसद्बाट हामीले यसको नीतिनियममा काम गर्न सक्छौँ। त्यस्तै, स्वच्छ वातावरण चुनौतीपूर्ण विषय हो, यो नेपालको आकाशमा मात्र निर्भर विषय होइन। हावाको प्रदूषण नियन्त्रण गर्नुपर्छ। ठूला उद्योगमा फिल्टर जडान गर्नुपर्छ। हरियाली क्षेत्र बढाउनु पर्छ।
हाम्रो संसद्का मुख्य कमजोरी वा सीमाबारे कसरी मूल्यांकन गर्नुहुन्छ?
मैले जिरो टोलरेन्स भनेर एउटा अभियान शुरू गरेको थिएँ। भ्रष्टाचार, दण्डहीनता र निकायहरूको दलीयकरण नै मुख्य समस्या हो। गठबन्धनको नाममा प्रतिपक्ष नै नहुने अवस्था आयो, जसले गर्दा नागरिकको आवाज सुनिने ठाउँ रहेन। संसद्मा प्राइभेट बिलमा काम भएको छैन। संविधान बनेको यति समय हुँदा पनि कतिपय कानूनहरू बनेका छैनन्। सबैभन्दा ठूलो पीडा भनेको अस्थिरता हो। राज्य नै अस्थिर भएपछि कुनै पनि राम्रो कामले गति लिन सक्दैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
