यस्तो छ एमालेको चुनावी घोषणापत्र

एमालेले सिंहदरबार र सर्वोच्च अदालतलगायत आगजनी भएका सरकारी संरचनाहरूको पुनर्निर्माणलाई निश्चित समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा (एमाले)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकता दिएको छ।

एमालेले आफ्नो घोषणापत्रमा गत भदौ २४ गते भएका हिंसात्मक घटनालाई अप्रत्यासित नभई 'योजनाबद्ध आक्रमण'को रूपमा चित्रण गरेको छ। सो घटनामा संलग्न कतिपय शक्तिहरूले 'नयाँ शक्ति' को मुखुण्डो लगाएर राष्ट्रघात गर्न खोजेको पार्टीको तर्क छ।

घोषणापत्रमा उल्लेख छ, “नेपाल राष्ट्रको सार्वभौमसत्ता र यसको अस्तित्व मेट्न योजनाबद्ध रूपमा गरिएको सो महाविनाशका लाभग्राहीहरू अहिले सरकारमा र निर्वाचनमा कुन रूपमा छन्, स्पष्टै देखिन्छ। राष्ट्रविरुद्धको यति ठूलो अपराध लुकाउन 'नयाँ शक्ति'को मुखुण्डो लगाउनेहरूलाई चिन्न अब ढिलो गर्नु हुँदैन।”

पार्टीले वर्तमान राजनीतिक अस्थिरतालाई विकास र अर्थतन्त्रको मुख्य बाधक मान्दै राजनीतिक स्थिरतालाई उच्च प्राथमिकतामा राखेको छ। घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ।

एमालेले सिंहदरबार र सर्वोच्च अदालतलगायत आगजनी भएका सरकारी संरचनाहरूको पुनर्निर्माणलाई निश्चित समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। साथै, नेपाली समाजलाई भयमुक्त, व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राख्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय संकल्पलाई पुनः दोहोर्‍याएको छ।

घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन 'देश बनाउने' र 'भत्काउने' शक्तिहरूबीचको जनमत संग्रह भएको दाबी गरे। उनले देश निर्माणका लागि युवाको ऊर्जा र पुराना पुस्ताको अनुभवबीच तालमेल हुनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले भने, “यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि। युवाको जोश र सपनाले कठिन पहाड चढ्न सकिन्छ, तर त्यहाँ अनुभवी पुस्ताको दृष्टि, संयम र मार्गदर्शन चाहिन्छ। युवा 'आगो' हुन् भने अनुभव 'उज्यालो' हो। आगोलाई दिशा चाहिन्छ, नत्र त्यसैले जलाउँछ। उज्यालोलाई ऊर्जा चाहिन्छ, नत्र त्यो निभ्छ। आगो र उज्यालो मिलेर मात्र देशको भविष्य उज्ज्वल हुन्छ।”

यस्तो छ घोषणापत्र