आईईएबाट बाहिरिने अमेरिकाको चेतावनी

अमेरिकी ऊर्जासचिव क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)लाई 'नेट-शून्य' अजेन्डा त्याग्न दबाब दिँदै आगामी एक वर्षभित्र सुधार नभए संस्थाबाटै बाहिरिने चेतावनी दिएका छन्।

अमेरिकाले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)लाई आफ्नो स्थापनाकालीन लक्ष्यमा फर्कन चेतावनी दिएको छ। पेरिसमा आयोजित आईईए मन्त्रीस्तरीय बैठकको अन्तिम दिन बोल्दै अमेरिकी ऊर्जासचिव क्रिस राइटले ५२ वर्ष पुरानो यस एजेन्सीले ऊर्जा सुरक्षा सुनिश्चित गर्ने आफ्नो मूल म्यान्डेटमा फर्कनुपर्नेमा जोड दिए।

सन् १९७३ को तेल संकटपछि ऊर्जा आपूर्तिमा हुने अवरोधहरूको सामना र समन्वय गर्न आईईएको स्थापना गरिएको थियो। राइटले आईईएले आफ्नो मूल उद्देश्य छाडेर सन् २०५० सम्मको ‘नेट-शून्य’ उत्सर्जनको जलवायु अजेन्डालाई प्राथमिकता दिएकोमा कडा असन्तुष्टि व्यक्त गरे। उनले नेट-शून्यको लक्ष्यलाई ‘विनाशकारी भ्रम’को संज्ञा दिँदै यसलाई हासिल गर्ने सम्भावना शून्य रहेको टिप्पणी गरे।

“आईईएलाई अर्को एक वर्षभित्र यो अजेन्डाबाट टाढा लैजान अमेरिकाले आफूसँग भएको सबै दबाब प्रयोग गर्नेछ,” राइटले पत्रकार सम्मेलनमा भने, "यदि आईईए ऊर्जा इमानदारी, पहुँच र सुरक्षाको मिसनमा फर्कन सकेन भने, दुःखको कुरा अमेरिका यसको पूर्वसदस्य बन्नेछ।”

आईईएले तेलको माग र आपूर्तिको मासिक प्रतिवेदनका साथै सौर्य र वायु ऊर्जाको वृद्धिलाई समेटेर वार्षिक विश्व ऊर्जा दृष्टिकोण सार्वजनिक गर्दै आएको छ। राइटले आईईए प्रमुख फातिह बिरोलले गत नोभेम्बरको प्रतिवेदनमा ‘वर्तमान नीति परिदृश्य’लाई पुनः समावेश गरेकोमा प्रशंसा गरे, जसले आगामी दशकहरूमा तेल र ग्यासको माग बढ्ने देखाएको छ। यद्यपि, उक्त प्रतिवेदनमा शताब्दीको मध्यसम्म नेट-शून्यमा पुग्ने परिदृश्य अझै हटाइएको छैन।

आईईए प्रमुख बिरोलको चारवर्षे कार्यकाल अर्को वर्ष सकिँदै छ। नयाँ नेतृत्वका बारेमा सोधिएको प्रश्नमा राइटले अमेरिका हाल ‘अनिर्णित वा तटस्थ’ रहेको बताए। उनले व्यक्तिभन्दा पनि संस्थाको 'मिसन' महत्त्वपूर्ण हुने उल्लेख गर्दै बिरोलले एजेन्सीलाई राजनीति र ऊर्जा विरोधी मानसिकताबाट बाहिर निकाल्न सके त्यो सकारात्मक हुने धारणा राखे।

आईईए प्रमुख बिरोलले बुधबार मन्त्रीहरूसँग बोल्दै आफ्नो संस्था ‘तथ्यांकमा आधारित’ र ‘गैरराजनीतिक संगठन’ भएको दाबी गरे। यद्यपि, सबै राष्ट्रहरू अमेरिकी अडानसँग सहमत देखिएका छैनन्। बेलायती ऊर्जासचिव एड मिलिब्यान्डले बेलायतले आईईएको 'स्वच्छ ऊर्जा संक्रमण कार्यक्रम'का लागि थप १ करोड २० लाख पाउन्ड योगदान गर्ने घोषणा गरे। मिलिब्यान्डले भने, “बिजुलीको युगलाई अब कसैले रोक्न सक्दैन।”