फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, ७ जनाको मृत्यु

सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग शहरका समुदायमा पानी पसेकाले स्वयंसेवकहरूले  प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरिरहेका छन्।

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ। 

फिलिपिन्स रेडक्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो शहरस्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ। स्थानिय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्यांकन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले बताए। 

शुक्रबार डाभाओ ओरिएन्टलको माटी शहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको छ। प्रभावित प्रान्तहरूमा रेडक्रसका  शाखा उच्च सतर्कतामा रहेको उनको भनाइ छ। सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग शहरका समुदायमा पानी पसेकाले स्वयंसेवकहरूले  प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरिरहेका छन्। 

अधिकारीहरूले क्षतिको आकलन र प्रभावितको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका छन्। स्थानीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयसँग अनुगमन र समन्वय जारी रहेको रेडक्रसले जनाएको छ। (रासस/सिन्ह्वा)