बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा भर्खरै सम्पन्न बाघ गणनाका क्रममा प्रयोग गरिएका एक हजार ७८० क्यामेरामध्ये ६० वटा हराएका छन्।

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गणनामा प्रयोग भएकामध्ये ८५ वटा क्यामेरामा समस्या देखिएको थियो। तीमध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका हुन्। उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गणनाका लागि कुल एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको जानकारी दिए।

गत पुस ३ गतेदेखि शुरू गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ। थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र सो कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी गणना गरिएको थियो। कुल ९५८ वटा ग्रिड बनाएर गरिएको गणनाका क्रममा केही स्थानका क्यामेरा हराएको उनले बताए।

उनका अनुसार एउटा ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तस्बिर संकलन गरिएको थियो। दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड मानेर गणनाको काम सम्पन्न भएको हो।

यसअघि सन् २०२२ मा गरिएको गणना अनुसार नेपालमा वयस्क बाघको संख्या ३५५ पुगेको थियो। उक्त तथ्यांकअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ भेटिएका थिए।