एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

झन्डा जलाएको आरोपमा हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दाङ– दाङको तुलसीपुरमा नेकपा (एमाले) को झन्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहरका २४ वर्षीय विक्रम परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।

यसअघि शुक्रबार सोही प्रकरणमा संलग्न तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका थिए। झन्डा जलाउने कार्यमा संलग्न हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको र अन्य संलग्नहरूको खोजी भइरहेको डीएसपी बोहराले जानकारी दिए।

घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भीडमा झन्डा जलाइएको थियो। एमालेले उक्त कार्यको कडा विरोध गर्दै आएको छ।