कोशी, गण्डकी र बागमतीमा हल्का हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराई भूभागका केही स्थानमा समयमा हुस्सु लाग्नेछ। हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र बागमतीका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी राति तराई भूभागका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।