गौरमा पुनः कर्फ्यु

स्थानीय प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारेको थियो।

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालयले रौतहटले गौर नगर क्षेत्रभित्र पुनः कर्फ्यु लगाएको छ। गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र कर्फ्युलाई निरन्तरता दिएको हो। 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पुनः कर्फ्यु जारी गरिएको जानकारी दिए। गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि कर्फ्यु लगाइएको हो। झडपका कारण गौर र सबगडा क्षेत्र शनिबार दिनभरि तनावग्रस्त बनेको थियो।

सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न प्रजिअ भुसालले आग्रह गरेका छन्। कर्फ्यु आदेश उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।

झडपका लागि उक्साएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारेको थियो।