पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा गरेको यो आक्रमणलाई अक्टोबरमा सीमामा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ।
पाकिस्तानले आइतबार अफगानिस्तानको सीमा क्षेत्रमा हवाई आक्रमण गरेको छ। यसले दुई देशबीचको तनाव थप बढाएको छ।
इस्लामाबादले पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटका घटनाको प्रत्युत्तरस्वरूप अफगानिस्तानमा आधारित आतंकवादी समूहहरूलाई लक्षित गरी सात स्थानमा कारबाही गरिएको जनाएको छ। काबुलले ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष सर्वसाधारण मारिएको दाबी गरेको छ।
रातभर सञ्चालन गरिएको यो आक्रमणलाई अक्टोबरमा सीमामा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ। त्यसबेला दुवै पक्षका ७० जनाभन्दा बढीको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए। पछिल्लो आक्रमणपछि सीमा क्षेत्रमा पुनः असुरक्षा र त्रास फैलिएको छ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तालिबान, उसका सहयोगी समूहहरू तथा इस्लामिक स्टेटसँग सम्बद्ध तत्वहरूलाई लक्षित गरिएको उल्लेख छ। तर अफगानिस्तानको रक्षा मन्त्रालयले नान्गरहार र पक्तिका प्रान्तका मदरसा र घरहरूमा आक्रमण हुँदा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिक शहीद र घाइते भएको जनाएको छ। मन्त्रालयले पाकिस्तानी आक्रमणको उचित र सुनियोजित जवाफ दिने’ चेतावनी दिएको छ।
उद्धारमा खटिएकाहरूले बेलचा र उत्खननका साधन प्रयोग गरी ढलेका संरचनामुनि पुरिएका आफन्तलाई निकाल्ने प्रयास गरिरहेका थिए। नान्गरहार प्रहरीका प्रवक्ता सैयद तैयब हम्मादका अनुसार मध्यरातमा शुरू भएको बमबारी तीन जिल्लासम्म फैलिएको थियो।
सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता पुनः नियन्त्रणमा लिएपछि दुई देशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ। अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसनका अनुसार पाकिस्तानी सैन्य कारबाहीका कारण अक्टोबरदेखि डिसेम्बरसम्म ७० अफगान सर्वसाधारण मारिएका थिए।
कतार र टर्कीको मध्यस्थतामा प्रारम्भिक युद्धविराम भए पनि बहुपक्षीय वार्ताले स्थायी सहमति दिन सकेको छैन। यसै महिनामा अफगानिस्तानले नियन्त्रणमा राखेका तीन पाकिस्तानी सैनिकको रिहाइमा साउदी अरेबियाले मध्यस्थता गरेको थियो। यद्यपि सम्बन्ध सुधारतर्फ ठोस प्रगति देखिएको छैन। भूमि सीमा महिनौँदेखि बन्द रहँदा दुवै देशका सर्वसाधारण प्रभावित भएका छन्।
दुई हप्ताअघि इस्लामाबादको एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको थियो र १६० भन्दा बढी घाइते भएका थिए। इस्लामिक स्टेट समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको थियो। त्यस्तै, इस्लामिक स्टेट–खोरासान शाखाले गत महिना काबुलको एक रेस्टुरेन्टमा भएको घातक आत्मघाती आक्रमणको दाबी गरेको थियो।
हालको हवाई आक्रमणले सीमापार आतंकवाद, प्रत्युत्तर कारबाही र कूटनीतिक असफलताले सिर्जना गरेको चक्रलाई थप गहिरो बनाएको छ। दुवै पक्षले एक अर्कामाथि दोषारोपण गरिरहँदा सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले नै यसको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
