बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा च्यापिएका एक यात्रुलाई उद्धार टोलीले पाँच घण्टाको प्रयासपछि जीवितै बाहिर निकाल्न सफल भएको छ।

धादिङ– दुर्घटनाग्रस्त ग २ ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरको पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ। गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, चरौँदीस्थित भैँसेगौडामा भएको दुर्घटनामा परेका ललितपुर, इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टाको प्रयासपछि जीवितै बाहिर निकाल्न सफल भएको हो।

भिरमा बजारिएर क्षतविक्षत बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसका पार्टपुर्जा काटेर बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए। पर्याप्त उद्धार सामग्रीको अभाव र भौगोलिक विकटताका कारण समयमै उद्धार गर्न कठिन भएको उनको भनाइ छ।

“मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए। हामीसँग तत्काल बस उठाउन वा काट्न सक्ने उपकरण थिएन। लामो समय सान्त्वना दिएर राख्यौँ र पछि जेनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” प्रहरी उपरीक्षक खड्काले भने, “उपचारका लागि काठमाडौँ पठाइएको छ, उनको अवस्था सामान्य नै देखिएको छ।”

पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। घाइते २६ जनाको काठमाडौँसहितका अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा राखिएको छ।