गृहमन्त्रीले लिए धादिङ बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी

धादिङ बस दुर्घटनाका घाइतेहरूलाई भेटेर गृहमन्त्री अर्यालले उनीहरूको उपचारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइतेहरूलाई भेट्न अस्पताल पुगेका छन्। गृहमन्त्री अर्यालले सोमबार अपराह्न कलंकीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

दुर्घटनामा परी हालसम्म १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी अहिले नेपाल नेशनल अस्पताल, ट्रमा सेन्टर र धादिङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूसँगको भेटका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए। उनले दुर्घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याइने बताए।

गृह मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिवको संयोजकत्वमा ५ (पाँच) सदस्यीय छानबिन कार्यदल गठन गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृहमन्त्री अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात र सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्यदललाई दुर्घटनाको सम्बन्धमा विस्तृत छानबिन गरी शीघ्र प्रतिवेदन पेश गर्न भनिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १:३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो।