नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौँ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जनाले मात्र बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिएका ६८ दलमध्ये हालसम्म नौ दलले मात्र खाता खोलेका हुन्।

आजसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी छन्।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्राप्त गर्ने आर्थिक सहायतामा पारदर्शिता ल्याउन, निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालना गराउन र प्रभावकारी निगरानीका लागि बैंक खाता अनिवार्य गरिएको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले निर्वाचन प्रचारप्रसारका सबै आर्थिक कारोबार बैंक खातामार्फत नै हुनुपर्ने जानकारी दिए।

'प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२' अनुसार आयोगमा दर्ता भई समानुपातिक र ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समेत निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ।

निर्वाचन प्रचारप्रसारका लागि लिइने आर्थिक सहयोग र गरिने खर्चको कारोबार सोही खातामार्फत गर्नुपर्ने कानूनी प्रावधान बमोजिम दल र उम्मेदवारले खाता खोलेका हुन्।