मन्थलीमा १२ दिनदेखि अरनिको यातायातको सेवा अवरुद्ध

रामेछापको मन्थलीमा बस दुर्घटनापछि अरनिको यातायातले १२ दिनदेखि सेवा ठप्प पार्दा निर्वाचनको मुखमा सर्वसाधारणले महँगो भाडा र सास्ती खेप्नुपरेको छ।

रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ मा बस दुर्घटना भएपछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट–मन्थली रुटको सेवा ठप्प पारेको छ। बस सेवा रोकिँदा रामेछाप र आसपासका सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ।

गत माघ २७ गते मन्थली–६, लिलौटीमा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ००१–०५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। दुर्घटनापछि पीडित पक्ष र जिल्ला प्रशासनबीच माघ २८ गते मध्यरातमा भएको वार्तामा सहमति जुटेको थियो। तर, मृतकका आफन्तले विभिन्न स्थानमा अवरोध गरेको बहाना बनाउँदै प्रालिले फागुन १ गतेदेखि यस खण्डमा बस सेवा बन्द गरेको हो।

लामो समयसम्म सेवा सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम मन्थली र काठमाडौँ आउजाउ गर्न कठिन भएको छ। यातायात बन्द हुँदा मन्थली भएर चल्ने रामेछापको सालु, साँघुटार, धोबी, सिरिसे, ढाँडे तथा ओखलढुङ्गाको लिखु र खिजिदेम्बा क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।

कम्पनीले मन्थली भएर चल्ने सेवा रोके पनि चौँरीखोला र सित्खा हुँदै रामेछापको दक्षिणी क्षेत्रमा भने यातायात निरन्तर सञ्चालन गरिरहेको छ। त्यस्तै, उमाकुण्ड र गोकुलगंगा गाउँपालिका जाने बसहरू दोलखाको जिरी हुँदै पठाउन थालिएको छ, तर बीचको भागमा भने सेवा अझै ठप्प छ।

स्थानीयका अनुसार पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने दायित्वबाट उम्किन कम्पनीले सेवा रोकेर दबाब सिर्जना गर्न खोजेको हो। आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखमा सेवा अवरुद्ध हुँदासमेत स्थानीय प्रशासनले सञ्चालनका लागि कडाइ नगरेको उनीहरूको गुनासो छ।

यसैबीच, सेवा तत्काल सुरु गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैसस महासंघ र नेपाल उद्योग तथा व्यवसायी महासंघ लगायतका संस्थाहरूले प्रशासन र कम्पनीको ध्यानाकर्षण गराएका छन्। ठूला बस नचल्दा साना सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको गुनासोसमेत बढेको छ।