हेटौँडाका यातायात अधिकृत र बिचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय हेटौँडाका अधिकृत अमृत भेटुवाल र बिचौलिया खगेन्द्र पौडेललाई घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।

हेटौँडा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरस्थित यातायात व्यवस्था कार्यालय हेटौँडामा कार्यरत अधिकृत छैटौँ अमृत भेटुवाल र एक बिचौलियालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सवारी सरुवा सहमतिका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अधिकृत भेटुवालको मिलेमतोमा बिचौलिया एवं लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगले फेला पारेको थियो।

हेटौँडा उपमहानगरपालिका-११ स्थित कार्यालय परिसरबाटै उनीहरू दुवै जनालाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।