काठमाडौँसहितका जिल्लामा असिनापानी, संखुवासभामा सबैभन्दा बढी वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौँसहितका जिल्लामा असिनापानी परेको छ भने पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३६.८ मिमि वर्षा संखुवासभामा मापन गरिएको छ।

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीका कारण मंगलबार देशभरको मौसम बदली हुँदा पूर्वदेखि पश्चिमसम्मका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रको तुलनामा मध्य र पूर्वी भेगमा बढी वर्षा भएको छ। काठमाडौँको जरसिंहपौवा र नुवाकोटको ककनीलगायतका क्षेत्रमा असिना परेको छ। विभागको साँझसम्मको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा संखुवासभामा ३६.८ मिलिमिटर (मिमि) रेकर्ड गरिएको छ।

संखुवासभा पछि सिन्धुपाल्चोकमा २५.६ मिमि वर्षा भएको छ। त्यसैगरी ताप्लेजुङमा २४, रोल्पामा २०.८, पर्वतमा २०.६ र प्यूठानमा १३.८ मिमि वर्षा भएको छ। यस्तै ललितपुरमा १३.२, गोरखामा १३, नुवाकोटमा ११, म्याग्दीमा १०.६, दोलखामा ८.४, भक्तपुरमा ३.४ र काठमाडौँमा २.६ मिमि वर्षा भएको विभागले जनाएको छ। अन्य धेरै जिल्लामा १० मिमिभन्दा कम वर्षा भएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बुधबार पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।