साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

साङ्ता गाउँमा ३९ जना मतदाता छन्। यहाँको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ।

मुस्ताङ– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ पन्छाउन थालिएको छ। 

हिमपातका कारण कात्तिक १० गतेदेखि पूर्ण रूपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छाउन शुरू गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुन्द्री सतहको ४ हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबैभन्दा पछि पत्ता लागेको गाउँ हो। यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन्। यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ। भौगोलिक रूपले विकट स्थानमा रहेको गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।

मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिक मंसिर अगावै जाडो छल्न जोमसोम आसपासका गाउँमा आफन्तको घरमा बसेका छन्। केही भने पोखरा–काठमाडौँ झरेका छन्। गाउँमा केही पशुचौपाया हेर्ने गोठाला बाहेक पूरै घरमा ताल्चा मारिएको छ। 

यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन्। हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिक चैत/वैशाख महिनामा मात्रै गाउँ फर्किन्छन्। तर, यसपालि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ। 

केही दिनअघि मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो।