तामाकोशी दुर्घटनापछि रोकिएको अरनिको यातायात १५ दिनपछि पुनः सञ्चालन

मन्थली नगरपालिका–६ स्थित तामाकोशीमा भएको बस दुर्घटनापछि क्षतिपूर्तिको विवादले १५ दिनदेखि ठप्प रहेको नेपाल अरनिको यातायातको सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।

रामेछाप– माघ २७ गते मन्थली नगरपालिका–६, भलुवाजोरको लिलौतिमा भएको भीषण बस दुर्घटनापछि १५ दिनदेखि बन्द रहेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। मन्थली हुँदै ग्रामीण क्षेत्रमा चल्ने बस सेवा बन्द हुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको थियो।

उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएका थिए। दुर्घटनापछि मृतकका आफन्तले राहत तथा क्षतिपूर्तिको विषयमा असन्तुष्टि जनाउँदै बसहरू बाटोमै रोकेर चालकमाथि दुर्व्यवहार गरेको भन्दै कम्पनीले मन्थली रुटमा चल्ने सेवा रोकेको थियो।

मन्थली हुँदै ग्रामीण क्षेत्रमा ओहोरदोहोर गर्ने बस सेवा बन्द भएपछि रामेछाप र ओखलढुंगाको लिखु क्षेत्रको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएको थियो। ग्रामीण भेगबाट सदरमुकाम मन्थली तथा काठमाडौँ र तराई आउजाउ गर्ने यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ भएको थियो। यातायात सेवा बन्द हुँदा बिरामी, विद्यार्थी र ज्यालादारी मजदुरहरू सबैभन्दा बढी मारमा परेका थिए।

बस सेवा ठप्प भएपछि नागरिक स्तरका विभिन्न संघ–संस्थाले राज्य संयन्त्रले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले पीडितलाई न्याय र यातायात सेवा दुवै सुनिश्चित गराउन स्थानीय प्रशासनलाई दबाब दिएका थिए।

दुर्घटनामा ज्यान गुमाएका १५ जनाका परिवारलाई बीमा सुविधाबापत पाँच लाख रुपैयाँ र काजकिरिया खर्चबापत एक लाख रुपैयाँ उपलब्ध गराउने तयारी भइरहेको प्रालिले जनाएको छ। तर मृतकका आफन्तले प्रतिमृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। क्षतिपूर्ति रकमको विषयमा अझै सहमति जुट्न सकेको छैन।

दुर्घटनामा घाइते भएका ८ जनाको उपचारको सम्पूर्ण जिम्मेवारी प्रालिले लिएको जनाएको छ। घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। नेपाल अरनिको यातायात सेवा प्रालिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुँयालले मन्थली रुट हुँदै गुड्ने बसहरू पुनः सञ्चालनमा आएको जानकारी दिए। यातायात सेवा पुनः सुरु भएसँगै बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ।