‘चितवनमा र देशैभरि भूमिहीन किसानको समस्या छ। मेरो क्षेत्रमा तीनवटा नगरपालिका पर्छन्, त्यहाँ अव्यवस्थित बस्तीहरू छन्। सुकुमबासी, भूमिहीन किसान छन्। उनीहरूको मुद्दा जोडतोडले बोल्नुपर्ने छ।’
प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक प्रतिस्पर्धामा हुनुहुन्छ, चुनावी अभियान कस्तो चलिरहेको छ?
अहिले मत माग्नका लागि मतदाताको घरघरमा पुगिरहेको छु। उहाँहरूको कुरा सुनिरहेको छु। यहाँका समस्याबारे छलफल गरिरहेको छु।
मतदाताबाट कस्ता प्रश्न र प्रतिक्रिया पाइरहनुभएको छ?
विभिन्न धारणा पाइरहेको छु। कतिपयले ‘तपाईंहरू नयाँ–नयाँ किन विभाजित हुनुभएको’ भन्ने प्रश्न गर्नुहुन्छ। धेरैजसोको गुनासो भने जो आए पनि यहाँको समस्या जस्ताको तस्तै रहेको भन्ने छ। तर धेरैजसोले युवापुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने भनिरहनु भएको छ। परिवर्तनका लागि नयाँ पुस्ता आवश्यक छ भन्ने भावना देखिन्छ।
तपाईं युवा हुनुहुन्छ, तपाईंको उम्मेदवारी किन?
म शुरूमा संसदीय राजनीतिमा आउने सोचमा थिइनँ। सामाजिक आन्दोलनमै सक्रिय थिएँ। तर जेन–जी आन्दोलनपछि परिस्थितिले फरक मोड लियो। त्यो आन्दोलन भ्रष्टाचारविरुद्ध, सामाजिक न्यायका लागि र राजनीतिक पुस्तान्तरणको पक्षमा थियो। पुराना दलले उक्त आन्दोलनलाई गलत रूपमा देखाउन थाले। त्यो आन्दोलनलाई कमजोर देखाउने प्रयास भयो।
मलाई व्यक्तिगत रूपमा आन्दोलनको मर्म राजनीतिक प्रक्रियामार्फत स्थापित गर्नुपर्छ भन्ने लाग्थ्यो। धेरै साथीहरू प्रत्यक्ष राजनीतिमा नआउने स्थिति बनेपछि कसैले त जिम्मेवारी लिनुपर्छ भन्ने ठानेँ। त्यसैले आन्दोलनलाई राजनीतिक दिशामा लैजान र त्यसका मुद्दालाई संस्थागत गर्न उम्मेदवारी दिएको हुँ।
अहिले त धेरै दलहरू थिए, उम्मेदवारी दिन किन प्रलोपा नै छान्नुभयो?
पछिल्लो समय जेन–जी आन्दोलनका म्यान्डेटमा सकारात्मक भएर आएको दल नेपाली कांग्रेस पनि थियो। नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो। नेपाली कम्युनिष्ट पार्टी पनि थियो। ती दलहरूले जेन–जी आन्दोलनको अजेन्डा बोक्छौँ भनेका थिए।
तर ती दलमा सहभागी हुने स्थिति देखिएन। किनकि उहाँहरूसँग धेरै विषयहरूमा चित्तबुझ्दो जवाफ थिएन। हामी आफैले पनि अलि बढी प्रयत्न गरेर दल बनाउन खोजेका थियौँ, तर धेरै साथीहरू आफ्नै ढंगले अगाडि बढ्नुभयो। कतिपय साथीहरू रास्वपा प्रवेश गर्नुभयो। मलाई चाहिँ प्रगतिशील लोकतान्त्रिक पार्टी विचारका हिसाबले अन्य दलभन्दा प्रगतिशील लाग्यो। यो पार्टी निर्माणको प्रक्रियामा पनि हामी जोडिएका थियौँ। जेन–जी आन्दोलनपछि उठेका मुद्दा यो पार्टीले बोकेका कारणले मलै यही दलबाट उम्मेदवारी दिएको हुँ।
तपाईंले उठाउने अजेन्डा केके हुन्?
मैले उठाउने मुद्दाहरू दुई किसिमका छन्– एउटा भूगोल केन्द्रित मुद्दाहरू, अर्को राष्ट्रिय मुद्दाहरू। मेरो क्षेत्र भनेको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भूगोल हो। यहाँ मानव र वन्यजन्तुबीचको द्वन्द्व ज्यूँ का त्यूँ छ। पुराना राजनीतिक दलहरूले अनेक घोषणा गरे, तर कार्यान्वय गरेनन्। त्यसको समाधानका लागि सहअस्तित्व हुने गरी काम गर्नुपर्नेछ।
चितवनमा र देशैभरि भूमिहीन किसानको समस्या छ। मेरो क्षेत्रमा तीनवटा नगरपालिका पर्छन्, त्यहाँ अव्यवस्थित बस्तीहरू छन्। सुकुमबासी, भूमिहीन किसान छन्। उनीहरूको मुद्दा जोडतोडले बोल्नुपर्ने छ।
यो क्षेत्रमा थारू र चेपाङ समुदाय छन्। उनीहरूको आर्थिक अवस्था कमजोर छ। उनीहरूको भूमि, संस्कृतिमाथि अतिक्रमण भइरहेको छ। उहाँहरूको अधिकारको रक्षा गर्नु पर्नेछ। राष्ट्रिय रूपमा र म आफैले पनि भोग्दै आएको जातीय उत्पीडनको समस्या छ। अहिले चुनावमै पनि मैले भोगिरहेको छु। यसलाई राष्ट्रिय मुद्दाको रूपमा उठाउनु पर्नेछ।
यस क्षत्रेमा किसानले मल, बीउ समयमा पाएका छैनन्। सिँचाइको समस्या उस्तै छ। अहिले पनि आकासे पानीमा भर पर्नुपर्ने अवस्था छ। म सांसद भएपछि यी मुद्दा संसद्मा ल्याएर सुनाउँछु र नीति निर्माणमा पहल गर्छु।
यहाँ अलि बढी बेरोजगारीको समस्या छ। उद्योगको कमी छ। भएका पनि जीर्ण अवस्थामा रहेकाले बेरोजगारीको समस्या छ। मेरै उमेरका साथीहरू कामका लागि बिदेसिएका छन्। यो मुद्दालाई मैले संसद्मा उठाउनुपर्ने छ।
तपाईंका प्रतिस्पर्धीहरू तपाईंभन्दा अनुभवी हुनुहुन्छ, कसरी लिनुभएको छ?
उहाँहरूले स्थापित पार्टीबाट लामो राजनीति गरेर आउनुभएको छ। मैले भर्खरै चुनावी प्रक्रियामा भाग लिएको हुँ। राजनीतिक दल पनि बन्दाबन्दै हामी चुनावमा होमिएका छौँ। एक हिसाबले हामीलाई चुनातीपूर्ण अवस्था छ। तर यसलाई मैले अवसरको रूपमा लिएको छु। आफ्ना कुरा लिएर जनतासँग जाने हो। मैले बुझाउन सकेँ उहाँहरूलाई भने पक्कै पत्याउनुहुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
