चुनावी रन्कोबीच महोत्तरीमा पानीको चिन्ता

यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका जगदीश काफ्लेको धारणा छ।

फाइल तस्वीर

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ। जताततै चुनावी सरगर्मी बढेको छ। मतदानका लागि अब केही दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन्। तर, यसैबीच महोत्तरीका आम सर्वसाधारण भने यसपालि हिउँदे वर्षा नहुँदा चाँडै पानीको संकट पर्न सक्ने चिन्ताले पिरोलिएका छन्। फागुनको तेस्रो साता बितिसक्दासम्म हिउँदे वर्षा नहुँदा किसान र स्थानीय बासिन्दामा चिन्ता थपिएको हो।

“खै, हिउँद बित्नै लाग्यो, पानी पर्ने छाँट देखिन्न। यो हिउँदमा पानी नपरे बालीनाली मात्र होइन, एकाध महिनाभित्रै खानेपानीकै संकट पर्ला जस्तो छ,” गौशाला नगरपालिका–१ का सुरेन्द्र महतो भन्छन्, “हिउँदे वर्षा नभए यहाँका पानीका मुहान चैतमै सुक्नेछन्।”

उनका अनुसार केही दिनभित्रै पानी नपरे नयाँ वर्ष २०८३ को शुरूआतमै पानीको हाहाकार हुन सक्छ। विगतमा हिउँदे वर्षा नभएको वर्ष चैतमै खोल्साखोल्सी, जरुवा, नदीका मुहान, इनार र चापाकल सुक्दा खानेपानीको संकट व्यहोर्नुपरेको स्थानीय बासिन्दा सम्झन्छन्। यही चिन्ताले चुनावी उत्साहसमेत जाग्न नसकेको सोही ठाउँका गणेश महतो बताउँछन्।

गाउँ–नगरमा चुनावी प्रचारप्रसार तीव्र भए पनि किसान र सर्वसाधारण त्यसमा रमाउन सकेका छैनन्। हिउँदे वर्षा नहुँदा चैते बाली राम्रोसँग नफस्टाउने चिन्ता किसानमा छ। “यसपालि पानी नपरी हिउँद बित्दै छ, रवि (चैते) बालीका बोट पानीबेगर ओइलिन थाले,” बर्दिवास–६ किसाननगरका ६५ वर्षीय कुलबहादुर भुजेल भन्छन्, “चैत नबित्दै पानीको हाहाकार पर्ला जस्तो छ।”

उनका अनुसार पानी नपर्दा उत्तरी भेगका वैशाखी सागसब्जीका बोटसमेत सुक्न थालेका छन्। भुजेलका छिमेकी ७५ वर्षीय जगन्नाथ महतो पनि जग्गा सुक्दै जाँदा सागसब्जी उत्पादनमा असर परेको बताउँछन्।

चुनावी चहलपहल बढे पनि किसानको ध्यान खेतबारीमै छ। “हाम्रा दुःख हामीसँगै छन्, पानीबेगर सुक्दै गएको बाली हेरेर कसरी चुनावले मन तान्ला?” भुजेलको प्रश्न छ।

बर्दिवास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादवले पनि सिँगो हिउँद पानी नपरी बित्न लागेकोमा विरक्ति व्यक्त गरे। “मजराउँदै गरेका आँपलाई मधुवा रोगबाट जोगाउन वर्षा चाहिन्छ,” उनी भन्छन्, “तर पानी नपरी गर्मी बढ्न थाल्यो।” यसले पानीको संकट थप गहिरिने लक्षण देखिएको उनको भनाइ छ।

बर्दिवास–९ पशुपतिनगरका ७० वर्षीय विसुनदेव महतोका अनुसार मौसमको वर्तमान संकेतले खडेरीको जोखिम बढाएको छ। गत वर्षको खडेरी सम्झँदै उनी यसपालि पानी र अन्न दुवैको संकट आउन सक्ने आशंका व्यक्त गर्छन्। भारतसँग सीमा जोडिएको दक्षिणी भेगमा पनि अवस्था उस्तै छ।

जलेश्वर–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डल भन्छन्, “खेतीपाती अनुकूल भए न खुसी हुन्छ, विरक्तिएको मनमा के चुनावको रमाइलो हुन्छ र?” उनका अनुसार गहुँको बालामा दाना पोटिलो हुन नसकेको र आँपको मञजरीमा मधुवा रोगको जोखिम बढेको छ।

सोनमा–५ का रामप्रताप यादव भन्छन्, “चुनावले जीवन बदलिए न चासो हुन्छ। भोट त हालिरहेकै छौँ, तर खेतबारीले न सिँचाइ पायो, न समयमा बीउ–मल।”

किसानका अनुसार पछिल्ला वर्षमा प्रकृति पनि प्रतिकूल बन्दै गएको छ। भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल भन्छन्, “पहिले हिउँदमा एक पटक पानी परे बालीनालीदेखि गर्मीमा खानेपानीको समस्या हुँदैनथ्यो। अहिले भने हिउँदभरि पानी नपर्दा चैतमै मुहान सुक्न थालेका छन्।”

हिउँदे वर्षा नहुँदा जमिनमुनिको पानीको सतह गहिरिँदै जानु र स्रोतका मुहान चैतमै सुक्नु यहाँको दीर्घकालीन समस्या बनेको छ। चुनावका बेला भोट माग्न आउने उम्मेदवारलाई यी समस्या सुनाइए पनि समाधानप्रति विश्वास जाग्न नसकेको किसान बताउँछन्।

“हामीले भोट दिँदै आएका छौँ, दुःख सुनाएकै हौँ,” गौशाला–४ का रिझन साह भन्छन्, “चुनाव नहुँदासम्म आशा हुन्छ, सकिएपछि फेरि जस्ताको त्यस्तै।”

पाका किसानका अनुसार वन, चुरे क्षेत्र र नदीकिनारमा बढ्दो उत्खननले वर्षा चक्र प्रभावित भएको छ। यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका ६० वर्षीय जगदीश काफ्लेको धारणा छ।