सही र गलत छुट्याउने घडी

नयाँलाई अवसर दिऊँ न त' भन्ने मनोविज्ञान हाबी हुनुलाई अन्यथा मान्न सकिँदैन। तर प्रश्न के नयाँ वास्तवमै नयाँ सोच, उद्देश्य, नीति, कार्यक्रम तथा तौरतरिका लिएर आएका छन् त?

दुई करोडको (१ करोड ९८ लाख) हाराहारीमा पुगेका नेपाली मतदाताले (फागुन २१ गते) ६४ दलका ३ हजार ४ सय ८६ उम्मेदवार मध्य १६५ (प्रत्यक्षतर्फ) लाई चुन्ने छन् तथा दलद्वारा प्रस्तुत गरिएका समानुपातिक उम्मेदवारको आधारमा अर्को ११० लाई। 

स्थापित ठुला चार (नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा पूर्व पञ्चको राष्ट्रिय प्रजातन्त्र पार्टी) लाई पछाडि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा बाजी मार्ने सम्भावना बढेको छ। रास्वपा अगाडी पर्नुको कारणबारे एक प्रतिष्ठित व्यापारी एवं समाजसेवी मित्रले बताए, “रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्री घोषित गर्नाले नै हो।”     

वर्तमान कालखण्डमा सबैभन्दा लोकप्रिय नेता भएर उदाएका पात्र हुन् बालेन्द्र शाह। तिनको लोकप्रियतालाई मनन गरेर रवि लामिछाने स्वस्थानी बर्त कथामा नवराजलाई हात्तीले माला पहिराएर राजा नियुक्त गरेकै शैलीमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तथा तिनका अन्य सर्तहरू स्विकारेर पार्टीमा प्रवेश गराएका हुन्। 'पुरानाले केही गरेनन्, त्यस कारण यस पालि त नयाँलाई नै दिने हो' भन्ने जनताको मनोविज्ञान रास्वपाले बुझेको देखिन्छ। 

उक्त पार्टीका सभापति दुई दुई पटक उपप्रधान एवं गृहमन्त्री भएको यथार्थ,  सरकारमा सामेल हुँदा दलका सदस्यहरूले प्रदर्शन गरेको राष्ट्र सञ्चालन, तिनका मन्त्रीले चटक्कै बिर्सिएको सुशासन प्रतिको प्रतिबद्धता आदि मध्यनजर गर्दै, देशभित्र सबैभन्दा लोकप्रिय ठहरिएका पात्र बालेनलाई रविले प्रमुख नेताको हैसियत सुनको थालीमा 'टक्राएर' भित्र्याए। यसरी भित्र्याउँदा उक्त दलमा भएका रविका अन्य अनुयायीलगायत 'स्वघोषित तीन दर्जन सरकार प्रमुखका सल्लाहकार'ले समेत बालेनको स्वागत निमित्त तयार भएका हुन सक्छन्। निर्वाचन परिणाम प्रकाशित भएको भोलिपल्ट मात्र  रास्वपा रविकै दल कायम रहने अथवा बालेनको दल हुने भन्ने  निर्धारण गर्ने छ।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएलगत्तै बालेन्द्र शाहको लोकप्रियता उकालो लागेको हो। शाह देशभर नै लोकप्रिय छन्। सार्वजनिक समारोह होस् अथवा खेलकुद मैदान, त्यहाँ स्वघोषित 'सर्वाधिक लोकप्रिय' पूर्व प्रधानमन्त्री पुग्नासाथै भिडले तिनको स्वागत '... चोर देश छोड'को नारा घन्किने गर्थ्यो। त्यही भिडले बालेन प्रकट हुँदा हर्षोल्लासका साथ ताली बजाएर तिनलाई स्वागत गर्थे।

बालेनको महिमा गर्नेहरूसंग “तिनी किन यति बिघ्न चर्चित किन भएका हुन्?” भन्ने मेरो प्रश्नको ठोस उत्तर भने मैले कहिल्यै पाउन सकिनँ। तिनका अधिकांश प्रशंसकहरू “तिनलाई गर्न दिएको भए देखाइदिने थिए”  मात्र भन्छन्। कतिपय बुझक्कडहरू भने काठमाडौँको मेयर हुँदा त्यहाँका एमालेबाट चुनिएका वडा अध्यक्षहरूले तिनलाई सत्कार्य गर्न रोकेको गुनासो गर्दै थिए। केन्द्रीय सरकारमा हुने गरेको परिवर्तन अर्थात् एमाले-माओवादी-काङ्ग्रेस बीचको सत्ता समीकरणको प्रभावले गर्दा तिनको बालेनको काममा बाधा परेको जस्तो व्याख्या गरेर पन्छिने गर्थे। हालै बालेनले खुलासा गरे अनुसार विदेशी शक्तिले तिनलाई फोहर मैला व्यवस्थापन गर्न अवरोध गरेका रहेछन्! 

बालेनको नाम सुन्नासाथ मेरो आँखा सामुन्ने नयाँ बानेश्वरको फुटपाथ किनारामुनि एक कुनामा मकै पोलेर जीविका चलाउने एकल महिलाको सम्झना हुन्छ। तिनको आँखाबाट बगेका बलिन्द्र आँसु धाराले मेरो छाती अझै पोल्छ। अङ्ग्रेजी सिनेमामा देखिने हिट्लरको 'ब्राउन ज्याकेट'धारी शैलीमा बालेन 'सेनाले' फुटपाथमा सागपात बिक्री गर्ने  महिला, थोत्रो साइकलमा टोकरी अड्याएर फलफूल तथा गोलभेँडाको भारी बोक्दै घर चाहर्ने श्रमिकउपर गरिएको अभद्र व्यवहार सम्झने गर्छु। सडकमा छरिएका तिनको नाङ्लोको सागपात, छरपस्ट भएर सडकमा छरिएका फलफूल, प्याज, गोलभेँडा आदि फेरि यहाँहरूलाई पनि याद होला। डोको, नाङ्लो, दाउरा तथा हावा फुस्केका थोत्रा बाई साइकल खोसाखोस गरेर मिल्काएका दृश्य टिकटकका भिडियोझैँ गरी आँखा सामुन्ने आउने गर्छन्। 

मेयरको प्रमुख दायित्वमध्ये नगरवासीको स्वस्थ वातावरणमा बाँच्ने, तिनको स्वास्थ्यको हित तथा फोहर मैलामुक्त सहर तुल्याउने आदि पर्छन् भने चार वर्षको अवधिमा सुन्दर नगरी काठमान्डु विश्वकै सबैभन्दा गए गुज्रेका सहरको अग्रपंक्तिमै अड्केर रहने थिएन। 

पूर्व मेयर साहेबमा अलिकति पनि सिर्जनशिलता भएको भए अन्यत्रका महानगरपालिकाले झैँ त्यहाँका बासिन्दाले दैनिक खपत गर्ने खाद्य पदार्थको गुणस्तरको प्रभावकारी निगरानी महानगर पालिकाले गर्ने थियो। नगरमा बिक्री हुने सागपात, फलफूल, मासु, माछा तथा कुखुराको मासु तथा अण्डा आदीको गुणस्तर नियमन गर्ने कार्यको कमसेकम सुरुवात गरिने थियो।

बालेनका अनुयायीहरूले महालेखा परीक्षकको प्रतिवेदन सायद पल्टाउँदैनन्। बालेन नेतृत्वको स्थानीय सरकारले गरेका आर्थिक अनियमितताका गाथाहरूको त्यहाँ खुलासा गरिएको छ। महानगरपालिकाले सार्वजनिक गरेको वार्षिक योजना तथा कार्यक्रम नियाल्दा उल्लेख गरिएका लक्ष्य तथा प्रगतिबीच फराकिलो खाडल साँघुरिएको संकेत देखा पर्दैन। प्रत्येक वर्ष विनियोजित रकमको अत्यन्त न्यून हिस्सा मात्र खर्च भएको पाइन्छ।   खर्च नै नभई उन्नति हुन्छ भने महानगरपालिकाले किन नागरिकबाट कर असुली गर्ने?                 

आफ्नो जीवन कालमा केही सहरका अत्यन्त लोकप्रिय मेयरहरू (तिनका) देशको प्रमुख कार्यकारी (राष्ट्रपति बा प्रधानमन्त्री) चुनिएको देखेको छु। मेक्सिको सहरकी मेयर (२०१८-२०२३) कलौदिया सिन्नबाउन मेक्सिकोको राष्ट्रपति निर्वाचित (२०२४) भएकी हुन्। इन्डोनेसियाको राजधानी जकार्ता सहरको मेयर जोको विडोडो (सन २०१४) लगातार दुई कार्यकाल राष्ट्रपति निर्वाचित भए।

अर्कोतर्फ टर्कीका वर्तमान राष्ट्रपति त्याइप एरोडोगान राजधानीको सहर स्ताम्बुल (१९९४-१९९८) का निर्वाचित मेयर थिए। मेयर हुँदा आर्जन गरेको लोकप्रियताको जगमा तिनी सन् २००२ मा प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन्। एघार वर्ष प्रधानमन्त्री रहेका उनी संविधान संशोधन गरेर सन् २०११मा राष्ट्रपति निर्वाचित भए। दुई कार्यविधि मात्र राष्ट्रपति पदमा रहन पाउने त्यहाँको संवैधानिक प्रावधान छलेर तिनी २०२३ मा तेस्रो पटक राष्ट्रपति निर्वाचित भएका छन्। विरोधीलाई ठेगान लगाउने तिनमा अद्वितीय खुबी छ। चौथो पटक पनि तिनी निर्वाचित भए भने आश्चर्य मान्नु पर्दैन।

फिलिपिन्सको सहर सानजुवानका मेयर निर्वाचित (१९६९- १९८६) भएपछि जोसेफ स्तार्त्दाले राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। त्यसपूर्व तिनी फिलिपिन्सको सिनेमा उद्योगमा 'इरप' उपनामले प्रख्यात थिए। भ्रष्ट राष्ट्रपति मार्कोसलाई सत्ताच्युत गर्न सफल 'जन शक्ति प्रदर्शन' क्रान्तिको तिनी पनि प्रमुख १२ नायकमध्ये एक थिए। लोकप्रियताकै कारणले गर्दा स्तार्दा सन् १९९८ मा बहुमत प्राप्त गरेर राष्ट्रपति निर्वाचित भएका हुन्। 

राष्ट्रपति पद भार सम्हाले पछिका दिनमा स्तार्दाले आफ्नो असली रूप देखाउन थाले। एकपछि अर्को भ्रष्टाचार काण्डहरूमा मुछिन थाले। तिनको भ्रष्ट तथा स्वेच्छाचारी शासन प्रणालीविरुद्ध फिलिपिन्सका नागरिकले विद्रोह गरे। उक्त विद्रोहलाई सुरक्षाकर्मीले खुलेर साथ दिए। तिन दिन लामो (जनवरी १७ देखि २०, २००१) विरोध प्रदर्शनपश्चात् राष्ट्रपति पद तिनले त्यागे। हाल पूर्व राष्ट्रपति स्तार्त्दा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मानवता विरोधी गतिविधि हरकत गरेको संगिन आरोपका मुद्दा खेपिराखेका छन्।         

माथि उल्लेखित उदाहरणले सबै मेयरहरू, जो पछि गएर मुलुकको कार्यकारिणी प्रमुख पदमा आसीन भए, ती सबै लोकतान्त्रिक तथा सक्षम सिद्ध हुन सकेका छैनन् भन्ने तथ्य प्रस्तुत गर्छ।

बिना आधार लोकप्रिय भएका अर्को एक राष्ट्रपतिका विषयमा छोटो विवरण प्रस्तुत गरेको छु। बिसौँ शताब्दीमा लोकप्रिय हुने ध्येयले अनेक लोकरिझ्याइँका काम गर्ने प्रतिबद्धता जाहेर गर्दै राष्ट्रपतिमा चुनिन सफल पात्र हुन्, सन १९४६ मा विजयी भएका राष्ट्रपति ज्वान डोमिन्गो पेरोन। बिसौँ शताब्दीको सुरुवातमा अमेरिकाकै हाराहारीमा समृद्ध थियो अर्जेन्टिना। दक्षिणी गोलार्द्धमा भए पनि अग्रपङ्क्तिको विकसित राष्ट्र थियो अर्जेन्टिना। विडम्बना, वर्तमान कालखण्डमा अर्जेन्टिनाको पहिचान टाट पल्टिएको एक विकासशील राष्ट्रको छ।

अर्जेन्टिना सम्पन्न राष्ट्रबाट विपन्न हुनमा पेरोनको अत्यधिक ठुलो भूमिका थियो। निर्वाचन प्रचारका क्रममा तिनले निर्वाचित भएपछि नागरिकलाई अनेकौँ सुविधा र सहुलियत दिने क्रममा करसमेत तिर्नु नपर्ने प्रचार गरे। राष्ट्रपति पेरोनले शपथग्रहण गरेलगत्तै नागरिकलाई कर मिनाहा भएको घोषणा गरी दिए। गैर कर राजस्वले मात्र सरकारी खर्च धान्न सम्भव भएन। सरकारी खर्च तथा आम्दानी बीचको सन्तुलन कायम गर्न सरकारले निजी क्षेत्रबाट ऋण लिन थाल्यो। त्यसले पनि नपुग भएपछि नयाँ नोट छाप्न थाल्यो।  अनियन्त्रित मुद्रा स्फीतिले जनजीवन तहस नहस भयो। अर्थतन्त्र तीव्र गतिले ओरालो लाग्यो। 

सन् १९५६ मा पेरोनलाई सेनाले अपदस्थ गर्‍यो। त्यस पश्चातका वर्षहरूमा कहिले निर्वाचित प्रतिनिधिले शासन गरे, कहिले सेनाले सत्ता हत्याउने गर्‍यो। यही क्रममा पेरोन पुनः राष्ट्रपति निर्वाचित समेत भए। यस कर्मले १९८३ सम्म निरन्तरता पायो। कुत उठाउने अथवा नागरिकले खाइपाइ आएका सेवा, सुविधा तथा कल्याणकारी कार्यक्रम कटौती गर्ने हिम्मत कुनै साकारले गर्न सकेनन्। ओरालो उन्मुख अर्थतन्त्र नियन्त्रण नभएपछि एक सम्पन्न राष्ट्र आजको दिनसम्म आइपुग्दा टाट पल्टिएको विपन्न राष्ट्र बन्न पुगेको छ।    

बालेन क्रेजकै कारणले गर्दा कतै मतदाता अङ्ग्रेजीको कथन 'जम्पिङ फ्रम फ्राइङ प्यान टु फायर' (तावाको माछा भुङ्ग्रोमा) तर्फ अग्रसर भएका त होइनन् भन्ने प्रश्नले दिमाग खाइरहन्छ। नेपालको संविधान २०७२ जारी भए यताको दशक देशले हासिल गरेको लोकतन्त्रलाई तीन प्रमुख दलका केही नेताले लुटतन्त्रमा (क्लेप्टोक्रेसी) परिणत गरिदिए। देशवासीका निम्ति सुशासन, भ्रष्टाचारबाट उन्मुक्ति तथा कानुनी राज्य प्रणाली मृगतृष्णा भएको छ। विद्यमान अवस्थामा मतदाताको मन मस्तिष्कमा 'पुरानाले गरेनन्, त्यस कारण नयाँलाई अवसर दिऊँ न त' भन्ने मनोविज्ञान हाबी हुनुलाई अन्यथा मान्न सकिँदैन। तर प्रश्न के नयाँ वास्तवमै नयाँ सोच, उद्देश्य, नीति, कार्यक्रम तथा तौरतरिका लिएर आएका छन् त? 

मेरै जीवन कालमा पञ्चायतको पतन हुनासाथै देशलाई कांग्रेस र कम्युनिस्टले ठिक दिशातर्फ ल्याउँछन् भन्ने व्यापक जनभरोषा थियो। पञ्चायतको पतनपछि कांग्रेसलाई सरकार सञ्चालन गर्ने अवसर मतदाताले दिए। काग्रेसले उक्त मतादेसको सम्मान गर्न सकेन। मध्यावधि निर्वाचनमा धेरै मतदाताले कम्युनिस्ट शक्तिको प्रतीक एमालेलाई मत दिएर काग्रेसलाई प्रतिपक्षको जिम्मेवारी सुम्पिए। दुवै दलले मतादेसको सम्मान गर्ने सकेनन्। 

काग्रेस-एमाले बीचको भएको सत्ता संघर्षको भरपुर फाइदा तिनै पूर्व पञ्च तथा उग्रवादी कम्युनिस्ट घटक माओवादीले उठाए। पञ्चले सरकारमा सामेल हुनेदेखि नेतृत्व गर्ने भूमिका पायो। माओवादीले कमजोर राज्यको अवस्थाबाट देशव्यापी हिंसा, हत्या आतंक तथा अराजकता मच्चाउने अवसर पाए। 

पूर्व पञ्चलाई साथ लिएर राजा ज्ञानेन्द्रले कांग्रेस एमाले तथा माओवादी बीचको संघर्षबाट आफ्नो अभीष्ट पूर्ति गर्ने अवसर पाए। नागरिकले पनि धैर्य गरेर राजाको हरकत टुलुटुलु हेरेकै हुन्। जब शाहले नागरिकलाई तिनकै बाबु बाजेको जस्तो अधिकार र विवेकहीन तुल्याएर रैती दुनियाँको दर्जामा झार्ने अभ्यास गरे, तब भने तिनका विरुद्ध पनि नागरिक जुरमुराए। 

निरङ्कुश राजतन्त्रको जरै उखेलेर नेपाल राष्ट्र गणतन्त्र भयो। जंगल पसेका माओवादी सहर पसे। तिनलाई 'अरूलाई हेर्‍यौँ पटक पटक माओवादीलाई हेर्‍यौँ यस पटक' नारा नै दिएर चुनावमा गए। धेरै मतदाताले माओवादीलाई संयम कायम गरेर सत्ता सञ्चालन गर्ने मतादेस दिए। माओवादीका निमित्त उक्त अवसर बोकाको मुखमा कुभिन्डो सिद्ध भयो। सत्ताको राप र तापको सुविधामा रमाएको  माओवादीलाई खाओवादीमा परिणत हुन समय लागेन।

नेपाली मतदाताले धेरै खालका अभ्यास गरिसकेका छन्। विगतका अभ्यास अर्थात् नयाँलाई अवसर दिने कार्यको प्रतिफल त्यति फलदायी भएन। निर्बाचतन पछिका दिनमा 'नयाँ'ले पुरानै शैली अख्तियार गरे। नेपालीको जीवनस्तर उकास्न भन्दा उनीहरू पनि 'म, मेरो र मेरा' कै मात्र जीवनमा सकारात्मक परिवर्तन ल्याउन अग्रसर रहे। 

फागुन २१ को निर्वाचन मतदाताका निमित्त एउटा अर्को अवसरका रूपमा खडा भएको छ। बिना कुनै ठोस प्रमाणको 'हावा'लाई पच्छ्याएर अर्को नयाँलाई अवसर दिएर पछि पछुताउने हो अथवा वास्तविक धरातलमा खडा भएर विगतका कमीकमजोरी स्विकारेर भविष्यमा ती गल्ती नदोहराउने प्रण गर्नेलाई विश्वास गरेर आफ्नो मत दिई नयाँ भविष्य उन्मुख हुने हो। विवेक मौका प्रयोग गर्न त अब केही दिन मात्रै बाँकी छ। नत्र 'अघि फलानो जानेन, पछि फलानो मानेन, बाघ लाग्यो घिच्च्याउन, फलानो लाग्यो चिच्याउन (सम्पादित उखान) भन्ने उखानझैँ होला चुनावपछि हाम्रो परिणति।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)