समस्यामा परेका नेपालीको उद्धारका लागि 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन

मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण समस्यामा परेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन गर्दै अनलाइन पोर्टलमार्फत विवरण संकलन थालेको छ।

काठमाडौँ— मध्यपूर्वमा बढ्दो तनावका कारण समस्यामा परेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोलीमा विभिन्न मन्त्रालय र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन्।

मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कुवेत, दुबई र एर्बिल लगायतका स्थानमा ट्रान्जिटमा रहेका नेपालीहरू हाल सुरक्षित छन्। इरानमा रहेका १० नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने बाँकी आठ जना सुरक्षित रहेका छन्। केहीको आवासीय अनुमति पत्र (रेसिडेन्सी कार्ड) को म्याद सकिएकाले तुरुन्त फर्किन समस्या भएको उनले बताए।

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानले कुवेतस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि त्यहाँ ट्रान्जिटमा रहेका ९० नेपालीलाई होटलमा राखिएको छ। त्यसैगरी, इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

मन्त्रालयले नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न, अफवाहको पछि नलाग्न र नियमित सम्पर्कमा रहन आग्रह गरेको छ। कन्सुलर सेवा विभागले मध्यपूर्वमा रहेका नेपालीको विवरण संकलनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

संकटको समयमा सत्यतथ्य जानकारी प्रवाहलाई प्राथमिकता दिएको बताउँदै मन्त्रालयले १७ लाखभन्दा बढी नेपालीको सुरक्षाका लागि लगातार अपडेट गरिरहेको जनाएको छ। साथै, परिवार तथा समुदायलाई संयमित रहन र संवेदनशील स्थानमा नजान विशेष अनुरोध गरिएको छ।