चाँगुनारायणमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइतेको उपचार हुँदै

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको निजी कार चाँगुनारायणमा दुर्घटना हुँदा गम्भीर घाइते भएका जडीबुटीका तीन जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।

भक्तपुर— भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको निजी कार जितपुरस्थित वडा कार्यालय नजिक सोमबार दिउँसो दुर्घटना भएको हो।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाँचमध्ये तीन जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधान रहेका छन्।

घाइते योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको हाल मध्यपुर अस्पतालमै उपचार भइरहेको छ।