'भोटर कार्ड' नहुँदा यी परिचयपत्र देखाएर पनि गर्न सकिन्छ मतदान

यससँगै आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका वा छुटेका मतदाताले पनि मतदान गर्न पाउने भएका छन्।

तस्वीर स्रोत: निर्वाचन आयोग

काठमाडाैँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन भोलि हुँदैछ। मतदाता परिचयपत्र (भोटर कार्ड) देखाएर मतदान गर्न सकिन्छ। तर भोटरकार्ड साथमा नहुँदा मतदान गर्न पाइँदैन कि भन्ने पनि धेरैलाई लागेको छ।

यस्तोमा चिन्ता लिनपर्दैन। निर्वाचन आयोगले मतदाताको परिचय खुल्ने विभिन्न पाँच वटा परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने जनाएको छ। यससँगै, आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका वा छुटेका मतदाताले मतदान गर्न पाउने भएका छन्।

निर्वाचन व्यवस्थापन सुरक्षा निर्देशिका २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचन शान्तिसुरक्षा कायम गर्ने र सोही दफाको खण्ड ‘ख’को (झ) मा उल्लेख भएका मतदान निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा र सवारी चालक अनुमतिमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको हो। यसका लागि पनि आयोगको मतदाता नामावलीमा नाम समावेश भएको भने हुनैपर्छ।

आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपांगता भएका मतदाताका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ।