सर्लाही–४ मा विवादपछि रोकिएको मतदान पुनः सुचारु

सर्लाही-४ मा घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भएपछि रोकिएको मतदान पुन: सुचारु भएको छ।

काठमाडौँ- सर्लाही-४ को बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया रोकिएको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो। विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए।

घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भएपछि अहिले विवाद रोकिएको छ। केही समयको अन्योलपछि अहिले उक्त केन्द्रमा पुनः मतदान सुचारु भएको छ र मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्।

यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सर्लाही–४ लाई निर्वाचन आयोगले पहिले नै अति संवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारेको थियो।

यो निर्वाचन क्षेत्र सीमावर्तीमा पर्ने भएकाले सबै मतदान स्थलहरूमा विशेष निगरानी राखिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका गगन थापा, रास्वपाका अमरेश कुमार सिंह र जनमत पार्टीका राकेश मिश्रलगायतका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यस क्षेत्रको निर्वाचनलाई देशभर निकै चासोका साथ हेरिएको छ।