दिउँसो १२ बजेसम्म देशभर १८ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको छ।

काठमाडाैँ– निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको छ।

आयोगका अनुसार बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा निर्वाचनमा दिउँसो १२: ०० बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (लगभग १८ प्रतिशत) मत खसेको हो।

देशभर मतदान शान्तिपूर्ण ढंगले भइरहेको आयोगको भनाइ छ। केही स्थानमा सामान्य झडप भए पनि त्यस्ता स्थानमा सुरक्षा व्यवस्था कडा गरेर निर्वाचन सुचारू गरिएको छ।

मतदाताहरूले आफ्नो नाम दर्ता भएको मतदान स्थलमा पुगेर अपरान्ह ५ बजेसम्म मतदान गर्न पाउनेछन्। मतदानका लागि मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपुर्जा  देखाएर मतदान गर्न पाइने निर्वचन आयोगले जनाएको छ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले यस पटक कूल योग्य मतदातामध्ये ६५ प्रतिशत जति मत खस्ने अनुमान गरेको छ।