निर्वाचनमा सहभागी नवपुस्ताका मतदाताले आफ्नो मतलाई देशको भविष्य र सुशासनसँग जोड्दै फेरि खेलबाड नहोस् भन्ने चाहना व्यक्त गरेका छन्।
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ। पहिलोपटक मतदान गर्नेदेखि विदेशबाट फर्किएर सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्।
तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किएकी छन्। डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा मतदान गरेपछि उनले मतदान गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिइन्।
उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य र पारदर्शिता आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा श्रेष्ठले जोड दिइन्। “यसपटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट भर्खरै नेपाल फर्किएकी हुँ”, उनले भनिन्, “अब बन्ने सरकारको पहिलो प्राथमिकतामा पारदर्शिता र सुशासन पर्नुपर्छ। देशमा भ्रष्टाचार व्याप्त हुनाले युवाहरू विदेशिन बाध्य छन्। स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सिर्जना भएमा अधिकांश युवा यहीँ बस्नेछन्। अब बन्ने सरकारले यी विषयलाई प्राथमिकतामा राखोस् भन्ने आशा छ।”
मैतीदेवी, घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसकेकी छन्। तर यस पटकको अनुभवमा आफू बढी उत्साहित र आशावादी रहेको उनले बताइन्। श्रेष्ठले यस पटक परिवारभित्रै पनि फरकफरक राजनीतिक धारणा देखिएको उल्लेख गरिन्। “हामीले लामो समयसम्म परिवारभित्रै दल र उम्मेदवारका एजेण्डाबारे छलफल गर्यौँ। मैले मतदानमा आफ्नै स्वविवेक प्रयोग गरेकी छु”, उनले भनिन्।
यस्तै, पहिलो पटक निर्वाचनमा सहभागी भएका १९ वर्षीय सार्थक सङ्ग्रौलाले मतदान गर्न पाउँदा आफूलाई थप जिम्मेवार महसुस भएको धारणा राखे। काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि अनुभव सुनाउँदै उनले भने, “पहिलोपटक भोट हाल्दा केही अप्ठ्यारो लागेको थियो, कसलाई भोट हाल्ने भन्ने अन्योल पनि थियो, तर मेरो मतको कदर हुन्छ र देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ।” उनले अभिभावकसँग छलफल गरे पनि अन्तिम निर्णय आफ्नै विवेकबाट गरेको बताए।
त्यस्तै, २६ वर्षीय मन्जुल पराजुली पनि पहिलोपटक मतदान गर्दा निकै उत्साहित देखिए। “अनुहारमै देखिन्छ होला, म एकदम उत्साहित छु”, उनले हाँस्दै भने। अब देशमा राजनीतिक स्थिरता कायम हुने उनको अपेक्षा छ। “पछिल्ला राजनीतिक घटनाक्रमका घाउ अझै ताजा छन्। अब निर्वाचित नेतृत्वले पाठ सिकेर देशलाई स्थिरता दिनुपर्छ”, उनले भने।
सोही मतदान केन्द्रमा मतदान गरेकी २४ वर्षीया आकृति सापकोटाले पनि यस पटकको निर्वाचनप्रति आशावादी रहेको बताइन्। “यस पटकका उम्मेदवार सक्षम देखिन्छन्। के सही र के गलत भन्ने अनुभव सबैले गरिसकेका छन्”, उनले भनिन्, “पहिले जे भयो त्यही फेरि नदोहोरियोस्, हाम्रो भविष्य राम्रो बनोस् भन्ने चाहना छ।” यो उनको दोस्रो मतदानको अनुभव हो। पहिलोपटक परिवारको सल्लाहमा निर्णय गरेको भए पनि यस पटक भने दलका एजेण्डा अध्ययन गरेर स्वयं निर्णय गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
