सन्तानको भविष्य सम्झेर मतदान गर्न पुगेका हजुरबा–हजुरआमा

देशको राजनीतिले विरक्त बनाए पनि ८६ वर्षीय वेदबहादुर खड्का सन्तानको जीवन राम्रो हुन्छ कि भन्ने आशा बोकी नातिसँग भोट दिन बिहानै मतदानस्थलमा आइपुगे।

काठमाडौँ– सन्तानको माया कसलाई लाग्दैन र? देशको राजनीतिले विरक्त बनाए पनि ८६ वर्षीय वेदबहादुर खड्का नाति सुशान्त खड्कासँग भोट दिन बिहानै मतदानस्थलमा आइपुगे।

काठमाडौँ क्षेत्र नम्बर २ का मतदाता रहेका उनलाई आफ्नो लागि देशको राजनीति र चुनावसँग केही आशा वा अपेक्षा छैन। तर, सन्तानको जीवन राम्रो हुन्छ कि भन्ने आशा बोकी उनी नातिसँगै स्कुटरमा बसेर कागेश्वरी मनोहरा –७, हरहर महादेव नजिकै रहको एनएमई स्कुलस्थित मतदानस्थलमा भोट दिन पुगेका थिए।

“२०१५ सालमा मैले रामेछापमा पहिलो पटक मतदान गरेको थिएँ, उतिबेला अहिलेको जस्तो भिडभाड र तामझाम थिएन, मान्छे पनि थोरै। अहिलेसँग तुलनै गर्न मिल्दैन,” उनले भने, “पहिलो पटक मैले भोट दिएयता एउटा पनि मतदान छुटाएको छैन, ३५ वर्ष यहाँ बसाइँ सरेपछि यतै भोट पनि पर्ने भयो, ईश्वरको मर्जीले बाँचिएको हुनाले भोट दिन पाएँ, तर आफ्नो लागि नभएर सन्तानका लागि।”

नातिसँग वेदबहादुर खड्का।

उनलाई आफ्नो नाति र उसको पुस्ताका युवाहरू हेरेर चिन्ता लाग्छ। भ्रष्ट नेताहरूको आचरण नसुध्रेसम्म उनीहरूले दुःख पाउने भए भन्ने पीडा मनमा भइरहन्छ।

“गल्ती गर्नेलाई मुखले गाली गर्नपर्छ, हात हाल्न पाएन। तर, यिनीहरूले त मान्छे नै मारे। सन्तान नाश पारे। मलाई धेरै दुःख छ यो कुरा को,” उनले भने, “अर्को कुरा, म काठमाडौँ पहिलो पटक आउँदा सिंहदरबार गएको थिएँ, त्यहाँ मेरो नजिककै आफन्त लप्टन (लेफ्टिनेन्ट) थिए, अहिले आएर त्यो सिंहदरबार पनि जलाए, पुलिस, आर्मी, वडा कार्यालय सबै चाहिन्छ, तर आवेगमा सबै जलाए।”

भदौ २३ र २४ को आन्दोलनमा भएको मानवीय क्षतिले पाका वेदबहादुरलाई पिरोलेको छ भने त्यसपछिको विध्वंसले पनि उनलाई दुःख लागेको छ। “सन्तान मासे, सिंहदरबार जलाए, यो राजनीति के हो ?,”  उनी प्रश्न गर्छन्। नातिको अनुहार हेरेर मात्र उसैसँग भोट दिन आएको उनले बताए।

उनका नाति जेन–जी मतदाता २४ वर्षका सुशान्त २०७९ कै निर्वाचनमा मत दिन योग्य भइसके पनि मतदाता नामावलीमा नाम नभएकोले भोट चाहिँ दिन पाएनन्। योपालि पहिलो पटक मतदान गर्न पाए। उनमा खासै उत्साह भने देखिएन। हजुरबा वेदबहादुरलाई मतदानपछि स्कुटरमा चढाएर फर्किन लागेका उनले देशमा परिवर्तनको लागि झिनो भए पनि आशा बोकेर भोट हालेको बताए।

“केही ठूलो नै परिवर्तन होला जस्तो त देखिँदैन, तर भोट दिनै पर्‍यो, अलिअलि होप (आशा) बोक्नै पर्‍यो,” सुशान्तले भने, “म आफू बाहिर जाने कि यही देशमै बस्ने टुंगो छैन। एक पटक भोटचाहिँ दिइहालौँ भनेर दिएँ।”

धनमाया थापा

भोट हाल्न यसै मतदान केन्द्रमा पुगेकी ९२ वर्षीया धनमायाले पनि २०१५ सालमा पहिलो पटक मतदान गरेकी रहिछन्। १९९० सालको मंसिरमा जन्मेको बताउने उनी बुहारी नातिनीसँग भोट दिन आइपुगेकी हुन्।

“कति पटक भोट दिएँ गिन्ती याद छैन, २०१५ सालपछिको सबै भोट मैले हालेँ, योपालि पनि भोट हाल्न लेख्या रहेछ,” उनले भनिन्, “यिनीहरूले जान सक्नुहुन्छ? भनेर मलाई सोधे मैले जान्छु भनेँ। मलाई लाग्छ, देशमा के होला नहोला भोट त हाल्नुपर्छ। जनताले आफ्नो नेता चुन्ने कुरा हो यो।”

मतदान स्थलमा बिहानदेखि शान्तिपूर्ण मतदान शुरू भएको र मतदाताहरूले शान्तिपूर्ण लाइनमा बसेर आफ्नो मतदान गरिरहेको सुरक्षाकर्मीहरूले बताए। वृद्धवृद्धा र अशक्तहरूलाई लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको उनीहरूले जानकारी दिए।