प्रतिनिधिसभा निर्वाचन: २ बजेसम्म ३३ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ६२ लाख २० हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ३३ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार देशभरका १६५ वटा निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदानस्थलमा मतदान प्रक्रिया जारी रहेको छ। 

देशभर रहेका कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। आयोगका अनुसार प्रदेशगत रूपमा मतदानको उत्साह मिश्रित देखिएको छ। 

सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ४७ प्रतिशत मत खसेको छ भने मधेश प्रदेशमा मतदानको गति तुलनात्मक रूपमा सुस्त देखिएको छ। मधेशमा हालसम्म २८ प्रतिशत मात्रै मतदान भएको छ। काठमाडौँ उपत्यकामा ५ लाख ५२ हजार ८८६ मत खस्दा मधेश प्रदेशमा १० लाख २४ हजार ४४९ जनाले मतदान गरेका छन्।

प्रदेशगत अवस्थालाई हेर्दा उपत्यकापछि गण्डकी प्रदेशमा मतदानको उत्साह बढी देखिएको छ, जहाँ ३९ प्रतिशत अर्थात् ७ लाख २४ हजार १३० मत खसेको छ। 

यस्तै, कर्णालीमा ३६ प्रतिशत अर्थात् ३ लाख ६९ हजार ५१५, बागमतीमा ३४ प्रतिशत अर्थात् ८ लाख ५३ हजार ५२९ र सुदूरपश्चिममा ३३ प्रतिशत ५ लाख ६८ हजार ५५१ मत खसेको छ। 

कोशी प्रदेशमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत अर्थात् ११ लाख ४९ हजार ५७१ मतदाताले मतदान गरिसकेका छन् भने लुम्बिनी प्रदेशमा २९ प्रतिशत अर्थात् ९ लाख ७७ हजार ४१९ मत खसेको छ।

बिहान ७ बजेदेखि शुरू भएको मतदान देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ। आयोगले हालसम्मको मतदान प्रक्रिया सामान्य रहेको र कुनै अप्रिय घटना नघटेको जानकारी दिएको छ। 

साथै, आयोगले साँझ ५ बजेसम्म मतदानको समय रहेकाले सम्पूर्ण मतदाताहरूलाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न पुनः आग्रह समेत गरेको छ।