प्रतिनिधिसभा निर्वाचन: छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान

आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानका लागि निर्धारित समय साँझ ५:०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेका मतदाताहरूले त्यसपछि पनि मत दिन पाउने जानकारी दिइन्।

काठमाडौँ— छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७:०० बजेदेखि शुरू भएको मतदान साँझ ५:०० बजे सकिएको हो।

आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानका लागि निर्धारित समय साँझ ५:०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेका मतदाताहरूले त्यसपछि पनि मत दिन पाउने जानकारी दिइन्। आयोगका अनुसार, अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगित भएको घोषणा गरिएको छैन।

दोलखा, सर्लाही र रौतहटमा देखिएका केही विवाद समाधान भई मतदान सुचारु भएको थियो। केहीबेर अवरुद्ध भएको दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा पनि अहिले मतदान जारी छ। मतदानको विस्तृत विवरणबारे आयोगले आजै साँझ ६:१५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाएको छ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार मैदानमा छन्। त्यस्तै, समानुपातिकतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार छन्। यो निर्वाचन प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भएको हो।

यस निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। साथै, १ लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो। साथै १४३ अस्थायी मतदानस्थल समेत तोकिएका थिए। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त र गर्भवतीहरूलाई सहज मतदानका लागि विशेष प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएका थिए।