मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।

काठमाडौँको अन्नपूर्ण विनायक स्कुल मतदान केन्द्रबाट मतपेटिका सिल गरी संकलन गरिँदै। तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ। 

निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि शुरू गरिनेछ। 

मतगणना शुरू हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित सर्वदलीय बैठक बस्ने छ। आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ। प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना शुरू हुनेछ।

काठमाडौँका १० वटै क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। 

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए। 

खसेको मतको यकिन हुन केही समय लाग्ने उनको भनाइ छ। मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।