बाजुराका ११५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्‍याइयो

बाजुराका ११५ मतदान केन्द्रको मतपेटिका आज बिहान पाँच बजेसम्ममा सदरमुकाम मार्तडी पुर्‍याइएको छ।

काठमाडौँ- बाजुराका ११५ मतदान केन्द्रको मतपेटिका आज बिहान पाँच बजेसम्ममा सदरमुकाम मार्तडी पुर्‍याइएको छ। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा  ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तीन बाहेक अरू सबै केन्द्रका मतपेटिका पुगेका हुन्।

हिमाली गाउँपालिका–३ मा रहेको हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको थियो । ११५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने तयारी छ।

हिमाली गाउँपालिका–३ रहेको गंगा आधारभूत विद्यालय बौडी,वडा-१ मा रहेको सुनन्दा मावि बाम र विच्छ्या माविको मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए ।

सडक पहुँच भएका क्षेत्रका मतपेटिका आएर मतगणना स्थल जिल्ला समन्वय समिति बाजुरामा राखिएका छन् । तीन मतदान केन्द्रको मतपेटिका आएमा आज नै सर्वदलीय बैठक बोलाएर मत गणनाको तयारी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका थिए । कुल मतदाताको ४६ हजार २३२ मत खसेको छ । तीमध्ये ५२ प्रतिशत मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित आठ जना उम्मेदवार चुनावी मैदानमा छन्।