ताप्लेजुङमा कांग्रेसको अग्रता, एमाले तेस्रो स्थानमा

ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिएका छन्।

ताप्लेजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५७१ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री परागले ४४२, नेकपा (एमाले)का क्षितिज थेबेले २९४ मत प्राप्त गरेका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७, श्रम संस्कृति पार्टीका सन्तोष राईले ४४ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले नौ मत प्राप्त गरेका छन्।

यहाँ विभिन्न पार्टी र स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।