७ क्षेत्रको मत परिणाम: रास्वपा ४, कांग्रेस २ र नेकपाका १ उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक ७ क्षेत्रको मतपरिणाम अनुसार रास्वपाका चार, कांग्रेसका दुई र नेकपाका एक उम्मेदवार विजयी भएका छन्। जारी मतगणनामा रास्वपा १०८ स्थानमा अगाडि छ।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत शुक्रबार राति १० बजेसम्म सातवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चार क्षेत्रमा, नेपाली कांग्रेसका दुई क्षेत्रमा र नेकपाका एक उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको मतगणना देशभर चलि रहेकाले अन्तिम नतिजा आउने क्रम जारी छ।

काठमाडौँका चार क्षेत्रमा रास्वपाको जित
काठमाडौँ क्षेत्र नं. ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३ हजार २१७ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरे।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं. ६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भएका छन्। यस क्षेत्रमा कुल ३४ हजार ४७३ मत खसेको थियो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ र नेकपा (एमाले) का अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।

काठमाडौँ क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत ल्याई निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ र राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे।

त्यस्तै, काठमाडौँ क्षेत्र नं. ३ मा पनि रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे।

कांग्रेसका गुरुङ र थकाली विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्। यस क्षेत्रमा ५४.८० प्रतिशत मत खसेको थियो।

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए।

रुकुम पूर्वमा नेकपाका दाहाल विजयी
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलामणि गौतमले ३ हजार ४६२ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरे। यस क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो।

रास्वपाको १०८ स्थानमा अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा रास्वपाले फराकिलो अग्रता कायम राखेको छ। निर्वाचन आयोगको शुक्रबार राति १० बजेसम्मको विवरणअनुसार, रास्वपा १०८ स्थानमा अग्रस्थानमा छ।

त्यसैगरी, नेपाली कांग्रेस १३, नेकपा (एमाले) ११, नेपाली कम्युनिस्ट पार्टी ६ र श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडि छन्। साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी र एक स्वतन्त्र उम्मेदवारले समान एक-एक स्थानमा अग्रता लिएका छन्।

बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेकाले अन्तिम नतिजा आउने क्रम जारी रहेको आयोगले जनाएको छ।