दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना शुरू

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माविको भवनमा मतगणना भइरहेको छ। शुरूमा जिल्लाको व्यास गाउँपालिका-२ बाट मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फाइल तस्वीर

दार्चुला– दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना शुरू भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले बेलुकी ७ः०० बजेदेखि मतगणना शुरू गर्ने निर्णय गरे पनि प्राविधिक तयारीका कारण ढिलाइ भएपछि भर्खरै मतगणना शुरू गरिएको हो।

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माविको भवनमा मतगणना भइरहेको छ। शुरूमा जिल्लाको व्यास गाउँपालिका-२ बाट मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका संकलन र व्यवस्थापनको काम सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइएको हो।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा कुल ५३.७६ प्रतिशत मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरबाट ४९ हजार ९६८ मतदाताले मतदान गरेका छन्।

यसैबीच, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुर्गम भूगोलका कारण केही उत्तरी क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो भने अन्य स्थानबाट सुरक्षा निकायको निगरानीमा पैदल तथा सवारीसाधनमार्फत संकलन गरिएको थियो।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए। मतगणना पारदर्शी र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि, निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मीको उपस्थितिमा गणना भइरहेको उनले बताए।