कर्णालीमा पुगेन रास्वपाको लहर

आयोगको पछिल्लो अद्यावधिक विवरणअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये २७ मा जितेर १११ क्षेत्रमा अग्रता बनाएको रास्वपाको लहर कर्णाली प्रदेशमा भने फैलिएको छैन।

काठमाडौँ– देशभर प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। केही ठाउँमा नतिजा आइसक्यो।

निर्वाचन आयोगको पछिल्लो अद्यावधिक विवरणअनुसार देशभर प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रको नतिजा आइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७ ठाउँमा जितेको छ। १६५ निर्वाचन क्षेत्रमध्ये अझै १११ क्षेत्रमा अग्रता बनाएको छ। तर देशभर जागेको रास्वपाप्रतिको उर्लंदो लहर कर्णाली प्रदेशमा भने पुग्न सकेको देखिँदैन।

यहाँका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत क्षेत्र नं २ मा मात्र रास्वपाको अग्रता छ। बाँकी क्षेत्रको मत परिणामलाई अहिलेसम्म नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसले डोर्‍याइरहेका छन्। दैलेख क्षेत्र नं १ मा कांग्रेसले जित हात पारिसकेको छ।

दैलेख १ मा कांग्रेसकी युवा उम्मेदवार ४१ वर्षीया बासना थापा १२ हजार ३७२ मतसहित निर्वाचित भएकी हुन्। यस क्षेत्रमा एमालेका रविन्द्रराज शर्मा (११,७९६) दोस्रो र रास्वपाका नन्दकिशोर बस्नेत (८,१५१) तेस्रो स्थानमा सीमित रहे। यहाँको क्षेत्र २ मा भने एमालेका लक्ष्मीप्रसाद पोखरेल ठूलो मतान्तरले अगाडि छन्। उनले १० हजार  मत कटाउँदा कांग्रेसका दिक्पाल कुमार शाहीले ७ हजार र तेस्रोमा रास्वपाका बखतबहादुर शाहीले ४ हजार मत कटाएका छन्।

हुम्लामा नेकपाका दिपेन्द्र रोकाया ४ हजार २३५ मतसहित अगाडि छन्। कांग्रेसका जयपति रोकाया (२,८८१) दोस्रो र एमालेका दल फडेरा (२,५३५) तेस्रो स्थानमा छन्। रास्वपाकी टासी ल्हान्जोमको पक्षमा ९७ मत मात्र खसेको छ।

मुगुमा भने केही मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी रहेकाले अहिलेसम्म मतगणना शुरू भएको छैन। यस क्षेत्रबाट एमालेका पूर्णबहादुर रोकाया, कांग्रेसका खड्क शाही, नेकपाका चन्द्रबहादुर शाही, रास्वपाका भुवन टमटालगायत ७ राजनीतिक दलका उम्मेदवार छन्।

क्षेत्रफलका हिसाबले देशकै ठूलो जिल्ला डोल्पामा नेकपा अगाडि छ। यस पार्टीका उम्मेदवार धनबहादुर बुढाले अन्य दलका उम्मेदवारभन्दा झन्डै १८०० मतको अग्रता बनाएका छन्। यहाँबाट रास्वपाका देवसिंह ऐडीले एक सय मत कटाउन सकेका छैनन्। कांग्रेसका कर्णबहादुर बुढाले ४२७ मत ल्याउँदा एमालेका लंकबहादुर रोकायाले अहिलेसम्म ३४१ मत पाएका छन्।

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको जित निश्चित छ। १०:४० बजेसम्म राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले ११ हजार ४६१ मतसहित अन्य दलभन्दा ठूलो अन्तरले अगाडि छन्। दोस्रोमा नेकपाका नरेश भण्डारीले ७ हजार ३०५ मत पाएका छन्। रास्वपा उम्मेदवार विनिता कठायतले जम्मा ३२९ मत प्राप्त गरेकी छन्।

कालिकोटमा एमालेका उम्मेदवार नगेन्द्र शाहीभन्दा नेकपाका महेन्द्रबहादुर शाही झन्डै एक हजारभन्दा धेरै मतले अगाडि छन्। उनले ११ हजार ७३४ मत प्राप्त गरेका छन्। यहाँ कांग्रेसका हर्षबहादुर बमले ७ हजार कटाउँदा नेकपा माओवादीका खड्क बहादुर विश्वकर्माले ४ हजार ९९३ मतसहित चाैथोमा छन्। रास्वपाका प्रकाश न्याैपाने ३ हजार १०१ मतसहित पाँचाैमा छन्।

जाजरकोटमा कांग्रेसको अग्रता छ। पटक पटक देशको मन्त्री बनिसकेका नेकपाका शक्तिबहादुर बस्नेतले १३ हजार ५५७ मत ल्याउँदा कांग्रेसका खड्कबहादुर बुढाले १६ हजार ४८८ मत ल्याएका छन्। अहिलेसम्म यहाँ एमाले तेस्रोमा र रास्वपा चाैथोमा छ।

यस्तै, रुकुमपश्चिममा नेकपा अगाडि छ। नेकपाका गोपाल शर्माले ७ हजार २७२ मत ल्याएका छन्। तत्कालीन माओवादी तथा अहिलेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार उठेका पूर्वअर्थमन्त्री जनार्दन शर्मा ५ हजार १६० मतसहित दोस्रोमा छन्। त्यसपछि कांग्रेसका राजु केसी (४,८४२) तेस्रो र रास्वपाका मानबहादुर शाही (१,२५१) चाैथो स्थानमा छन्। एमालेका नन्दराम देवकोटा जम्मा ६२१ मतसहित पाँचाैंमा छन्।

सल्यानमा पनि नेकपाको अग्रता छ। रास्वपाका ललितकुमार चन्दभन्दा झ्नडै १ हजार मतले अगाडि रहेका नेकपाका रमेशकुमार मल्लले ११ हजार ९२८ मत पाएका छन्। यहाँ कांग्रेसका केशबहादुर विष्ट र एमालेका गुलाब जंग शाह क्रमश: तेस्रो र चाैथो छन्।

कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतको क्षेत्र नं १ मा कांग्रेसका विष्णुबहादुर खड्का १९ हजार २३० मतसहित अगाडि छन्। एमालेका ध्रुब शाहीले १३ हजार २०० मत कटाउँदा रास्वपाका टेकबहादुर सिंहले १० हजार ३०० मत कटाएका छन्।

यस प्रदेशमा रास्वपाको एकमात्र जित सम्भव देखिएको सुर्खेत क्षेत्र २ हो। यहाँबाट रास्वपाका रमेशकुमार सापकोटा भारी मतान्तरले अगाडि छन्। उनले १८ हजार ८७३ मत पाउँदा कांग्रेसका नारायण कोइरालाले ११ हजार तथा एमालेका कुलमणि देवकोटाले ८ हजार ५०० मत कटाएका छन्।