प्रतिनिधिसभा निर्वाचन : ५ क्षेत्रमा महिला उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच महिला उम्मेदवार विजयी भएका छन् भने अन्य आठ जनाले विभिन्न क्षेत्रमा अग्रता कायम गरेका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार, काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्। साथै, मोरङ–६ मा रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएका छन्। दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा १२ हजार ३७२ मत प्राप्त गरी विजयी भएकी छन्।

जारी मतगणनामा रास्वपाकी सोविता गौतम (चितवन–३), डा. तोसिमा कार्की (ललितपुर–३), इन्दिरा रानामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (कार्की) (सर्लाही–१), आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी–१) र गौरीकुमारी (महोत्तरी–४) मा अग्रस्थानमा छन्।

आयोगका अनुसार, हालसम्म ४५ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ। प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष प्रणालीतर्फ कूल ३ हजार ४०६ उम्मेदवारमध्ये महिला उम्मेदवार ३८८ जना थिए।