अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

देशको वायुमण्डलमा उच्चचापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

फाइल तस्वीर

काठमाडौँ– देशका विभिन्न भागमा आगामी मंगलबारसम्म मौसम पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेले आइतबार बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएका छन्।

हाल देशको वायुमण्डलमा उच्चचापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। “यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ”, लामिछानेले भने।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भू–भागका साथै बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको पूर्वानुमान छ।