श्रम संस्कृति पार्टीले जित्यो तीन सिट

प्रतिनिधिसभा निर्वाचनमा भोजपुर, सुनसरी क्षेत्र नं. १ र खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवारहरू विजयी भएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले तीन सिटमा विजय हासिल गरेको छ। भोजपुर, सुनसरी क्षेत्र नं. १ र खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवारहरू विजयी भएका हुन्।

भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन्। निर्वाचन कार्यालयका अनुसार राईले १६ हजार ६६३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे। त्यसैगरी, नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६ हजार ६०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ५ हजार ७२८ मत प्राप्त गरे।

त्यसैगरी, सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। राई ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। त्यसैगरी, नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गरे।

खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन्। राई १६ हजार ६१२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे। त्यसैगरी, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरे।