संखुवासभामा एमालेलाई पछ्याउँदै रास्वपा

संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले रास्वपाका मिङ्मा शेर्पाले भन्दा ७६३ मत बढी ल्याउँदै अग्रतालाई कायमै राखेका छन्।

संखुवासभा– संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन्। कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

हालसम्मको मतगणनामा एमालेका कार्की ६ हजार १४९ मतका साथ अग्रस्थानमा छन्। उनलाई रास्वपाका उम्मेदवार शेर्पाले ५ हजार ३८६ मतसहित पछ्याइरहेका छन्। हाल दुई उम्मेदवारबीच ७६३ मतको अन्तर रहेको छ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ ३ हजार ६०७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। श्रम संस्कृति पार्टीकी उमाकुमारी राई २ हजार ८१७ मतका साथ चौथो स्थानमा छिन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरिता थापाले ६४४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका घनश्याम वालिङ राईले २६९ मत पाएका छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा हालसम्म २० हजार ३८९ मत गणना भइसकेको छ। अहिलेसम्म मादी र धर्मदेवी नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ। शनिबार दिउँसोदेखि जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ।

मुख्य निर्वाचन कार्यालयका अनुसार गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ। मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको छ। संखुवासभामा कुल एक लाख १९ हजार ६३० मतदाता रहेका छन् भने यस पटकको चुनावी मैदानमा १५ दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।