गण्डकीका १८ मध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक, २ स्थानको मतगणना जारी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतपरिणाम सार्वजनिक भएका १६ क्षेत्रमध्ये १३ स्थानमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने दुई क्षेत्रको मतपरिणाम आउन बाँकी छ।

गण्डकी– गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ। गोरखा–१ र २ मा मतगणना जारी छ।

परिणाम सार्वजनिक भइसकेका १६ निर्वाचन क्षेत्रमध्ये १३ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् भने दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन्। एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। कास्की–१ मा ३९ हजार ८३३ मतसहित खड्कराज पौडेल, कास्की–२ मा ३१ हजार ९११ मत ल्याएर उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएका छन्। बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। बागलुङ–१ मा सुशील खड्काले २० हजार ९२७ र बागलुङ–२ मा सोम शर्माले १२ हजार ६४७ मतसहित जित हासिल गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार नै विजयी भएका छन्। स्याङ्जा–१ मा धनञ्जय रेग्मी र स्याङ्जा–२ मा झविलाल डुम्रे विजयी भएका छन्। रेग्मीले २९ हजार ३१ र डुम्रेले २५ हजार ३५४ मत प्राप्त गरेका छन्। तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले नै जितेका छन्। तनहुँ–१ मा स्वर्णीम वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका छन् भने तनहुँ–२ मा श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी भएका छन्।

यस्तै, नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्। नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी भएका छन्। गौतमले ५० हजार ९४५ र खनालले ४१ हजार ३४७ मत प्राप्त गरेका छन्। लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी भएका छन्। पर्वतमा रास्वपाकै सागर भुसाल २६ हजार ५६१ मतसहित विजयी भएका छन्।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मत ल्याएर विजयी भएका छन्। मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले दुई हजार ४१५ मत ल्याएका छन्।