१६१ क्षेत्रको मत परिणाम सार्वजनिक: कुन-कुन दलले कति सिट जिते?

निर्वाचन आयोगका अनुसार १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ।

काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा छ। हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ।

प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ सिट जितेको छ। रास्वपा अब एक क्षेत्रमा अगाडि छ। 

समानुपातिकतर्फ हालसम्मको मतगणनामा रास्वपाले ३८ लाख २४ हजार ९२९ मत पाएको छ। दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट जितेको छ भने एउटा क्षेत्रमा अग्रता बनाएको छ। कांग्रेसले समानुपातिकतर्फ १२ लाख ८९ हजार ९९२ मत पाएको छ।

प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जितेको छ। एक क्षेत्रमा अगाडि छ। समानुपातिकमा एमालेले १० लाख ८९ हजार ९१८ मत पाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्ष सात सिट जित्दा समानुपातिकमा ५ लाख ६३ हजार २७४ मत पाएको छ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन क्षेत्र जितेको छ भने समानुपातिकतर्फ दुई लाख ६३ हजार ७ मत पाएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ।  समानुपातिकतर्फको मतगणना भने मंगलबारसम्म सकिने आयोगले जनाएको छ।