निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि निष्क्रिय

निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता सोमबार राति १२ बजेदेखि निष्प्रभावी हुने निर्णय गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्प्रभावी हुने जनाएको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ अब निष्प्रभावी हुने निर्णय गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न उक्त आचारसंहिता लागू गरिएको थियो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम माघ ४ गतेदेखि उक्त संहिता कार्यान्वयनमा ल्याइएको थियो।

आयोगको निर्णयअनुसार, गत माघ ४ गते रातिदेखि लागू भएको आचारसंहिता सोमबार राति १२ बजेदेखि पूर्ण रूपमा निष्क्रिय हुने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।