आधा सिलिन्डर ग्यास बिक्री गर्ने निगमको निर्णय

आयल निगमले बजारमा ग्यासको माग अत्यधिक बढेपछि आपूर्ति व्यवस्थापन गर्न भन्दै आधा भरिएको ग्यास सिलिण्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नेपाल आयल निगम लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न अबदेखि सिलिन्डर आधा मात्र भरेर बिक्री गर्ने निर्णय गरेको छ।

निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि ७.१ केजी ग्यास भरिएको सिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध गराउन ७.१ केजी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ। उपभोक्ताहरूलाई सोहीअनुसार ग्यास खरिद गर्न अनुरोध छ।”

निगमका अनुसार नियमित रूपमा माग अनुसार नै ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्लो दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा माग अस्वाभाविक रूपमा बढेको छ। मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर परिरहेको निगमको भनाइ छ।

भारतमा समेत सर्वसाधारणलाई ग्यास पाउन समस्या भएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई सञ्चित गर्ने प्रवृत्ति त्याग्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेका छन्।