देशका पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।

काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।


आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली  भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै,  मधेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
 
आज राति  कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।