‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ, जसमा २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेका छन्।

फाइल तस्वीर

काठमाडौँ– वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकाको हुने गरेको बताए। वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग, हृदयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले जानकारी दिए।

विज्ञहरूका अनुसार प्रदूषणले बालबालिकामा श्वासप्रश्वासको समस्या, मुटुसम्बन्धी रोगको जोखिम, शिशु बिरामीदरमा वृद्धि, बाल्यकालमै क्यान्सरको जोखिम, मस्तिष्क विकासमा ढिलाइ, असामान्य व्यवहार र कुपोषण जस्ता समस्या निम्त्याउने गरेका छन्। यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता, बाँझोपन, गर्भकालीन मधुमेह र मानसिक स्वास्थ्य समस्या पनि यसकै कारण देखिने गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणा बढी देखिएको प्रवक्ता बुढाथोकीले बताए। उनका अनुसार नेपालमा बिहीबार वायु गुणस्तर सूचक १८५ सम्म पुगेको थियो।

डब्लूएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। सूक्ष्म कणहरू हावामा सजिलै तैरिन सक्ने र श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुग्ने भएकाले नेपालको प्रदूषण अवस्था डब्लूएचओको मापदण्डभन्दा निकै बढी रहेको उनले स्पष्ट पारे।

वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सम्म सचेत रहनुपर्ने र १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिका) का लागि हानिकारक मानिन्छ। सूचक १५१ भन्दा माथि पुगेमा हावा अस्वस्थ मानिन्छ।

प्रदूषणलाई डब्लूएचओको मापदण्डभित्र ल्याउन सके हरेक वर्ष नेपालीको आयु औसत ३.३ वर्षले बढ्ने अनुमान गरिएको छ। विश्वभर वायु प्रदूषणका कारण वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशमा हुने गर्दछ।

 

वायु प्रदूषण सवारीसाधनबाट निस्केको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक र विषादीको प्रयोगलगायतबाट हुने गरेको छ।