किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको मुद्दामा आइतबार सुनुवाइ हुने

रास्वपाबाट धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ।

शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तय भएको थियो। तर, न्यायाधीश सुवेदीले बिहीबार मात्र साहको अर्को मुद्दामा आदेश दिएकाले 'हेर्न नमिल्ने' भन्दै इजलासबाट अलग भएपछि सुनुवाइ आइतबारका लागि सारिएको हो।

निर्वाचन आयोगले साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै फागुन १९ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगको सोही निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। यसअघि अदालतले साहलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।