इनिशा विकको न्यायका लागि सर्लाहीमा प्रदर्शन

सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।

सर्लाही– सुर्खेत, वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा सर्लाहीमा प्रदर्शन गरिएको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले विरोध र्‍याली निकालेका हुन्।

प्रदर्शनमा सहभागीहरूले इनिशाको परिवारलाई न्याय दिन, दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउन र भविष्यमा यस्ता जघन्य अपराध रोक्न सरकारसँग प्रभावकारी कदमको माग गरे। प्रदर्शनकारीहरूले 'इनिशालाई न्याय देऊ', 'बालिकामाथि हुने हिंसा र हत्या बन्द गर' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।