इन्धन र ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारीसाधनका लागि प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ।

काठमाडौँ— काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने बताएको छ।

ग्यास मौज्दात हुँदाहुँदै ‘छैन’ भन्दै उपभोक्तालाई रित्तो हात फर्काउने, बढी मूल्य असुल्ने तथा पेट्रोल पम्पहरूले तेल मौज्दात राखेर बिक्री नगरेको जस्ता गुनासा आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए।

काफ्लेले भने, “ग्यास छैन भनी गलत सूचना प्रवाह गर्ने, बढी मूल्य लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि हामी कारबाही गर्नेछौँ। नेपाल आयल निगमले तोकेको आधिकारिक मूल्यमा नै खरिद-बिक्री गर्न व्यवसायी र उपभोक्ता दुवै पक्षलाई हाम्रो अनुरोध छ।”

ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी सञ्चिति (स्टक) गर्ने गरेका कारण पनि बजारमा समस्या देखिएको उनको भनाइ छ। “यसरी ग्यास सञ्चिति गर्दा माग र आपूर्तिको चक्रमा असर पुग्छ। सहज जनजीवनका लागि उपभोक्ता, व्यवसायी र सरकार सबैको समान दायित्व छ; आ-आफ्नो दायित्व सबैले पूरा गर्नुपर्छ,” काफ्लेले थपे।

पेट्रोल पम्पहरूले पनि इन्धन हुँदाहुँदै ‘छैन’ भनी बिक्री नगरेको सूचना प्राप्त भएकाले त्यस्ता पम्पमाथि महानगरले विशेष निगरानी थालेको छ। यदि कतै कृत्रिम अभाव सिर्जना गरेको पाइएमा तथ्यमा आधारित विवरण महानगरपालिकाको ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ। प्राप्त विवरणका आधारमा महानगरले अनुगमन तथा कारबाही अघि बढाउनेछ।

यता, ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट हुने ग्यास आयात हाल नियमित छ। त्यसैले, आवश्यकताभन्दा बढी सञ्चिति गर्न माग नगर्न उनले उपभोक्तासँग आग्रह गरे।